भेरी अस्पतालका विरामीलाई निःशुल्क रगत


भेरी अस्पतालका विरामीलाई निःशुल्क रगत

नेपालगन्ज १९ भदौ : नेपाल रेडक्रस सोसाइटी बाँकेले भेरी अस्पतालका बिरामीका लागि निःशुल्क रगत वितरण सुरु गरेको छ । भेरी अस्पतालमा उपचाररत विरामीहरुलाई आजदेखि निःशुल्क रगत उपलब्ध गराउन सुरु गरिएको हो ।

लुम्बिनी प्रदेश सरकारले सरकारी अस्पतालमा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने नीति अनुसार भेरी अस्पतालमा यो सेवा सुरु गरिएको छ ।

रेडक्रसले यसअघि रगत राख्न आवश्यक पर्ने ब्याग खरिद वापत बिरामीसँग केही शुल्क लिदैं सट्टा अथवा रक्तदाता संस्थाको सिफारिसमा सःशुल्क रगत प्रदान गर्ने गरेको थियो । बिरामीलाई आईतबारदेखी रगत निःशुल्क वितरण गरिएको हो ।

रेडक्रस रक्तसञ्चार केन्द्र नेपालगन्जमा आयोजित कार्यक्रममा भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले शुभारम्भ गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले रक्तसञ्चार केन्द्रका लागि आवश्यक पर्ने सुविधा सम्पन्न भवन निर्माणका लागि आफुले प्रक्रिया अगाडी बढाइसकेको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

‘भेरी अस्पतालको दुई वटा सुविधा सम्पन्न भवन बन्दै गर्दा रक्तसञ्चार सेवा जीर्ण भवनबाट दिनु राम्रो कुरा होईन, त्यसकारण रक्तसञ्चार केन्द्रको भवन पनि सुविधा सम्पन्न निर्माण गर्न मैले बजेटको ब्यवस्थापन गरिसकेको छु,’ उनले भने । विकासमा राजनीति नगर्न मन्त्री राईले सबैलाई आग्रह गरे । बाँके क्षेत्र नम्बर– २ को सांसद र नेपाल सरकारको मन्त्री भएको हैसियतले यहाँको विकास गर्ने आफ्नो दायित्व पनि भएको बताए ।

भेरी अस्पतालले सरकारको नीति अनुसार आजदेखि निःशुल्क रगत अस्पतालमा उपचचाररत बिरामीहरुलाई उपलब्ध गराउन थालेको हो । त्यसका लागि भेरी अस्पतालले रेडक्रसद्वारा क्षेत्रीय रक्तसञ्चार केन्द्रसँग सम्झौता गरेको छ ।

रेडक्रसको ६० औं स्थापना दिवस पारेर आज आयोजित औपचारिक कार्यक्रममा अस्पतालका मेडिकल सुपरिन्टेन्डेण्ट डाक्टर बद्री चापागाई र रेडक्रस बाँकेका मन्त्री अजिज अहमद सिद्दिकीबीच यसअघि भएको निर्णय आदानप्रदान गरेर सेवा सुरु भएको घोषणा गरिएको हो ।

रेडक्रस बाँकेका उपसभापति शान्ति श्रेष्ठले स्वागत गरेको उक्त कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले रेडक्रसले सुरु गरेको काम राम्रो भएको बताए ।

उक्त कार्यक्रम रेडक्रस बाँकेका सभापति गोवद्र्धन सिंह सम्झनाको सभापतित्वमा सम्पन्न भएको थियो । लुम्बिनी प्रदेश सरकारसँगको सम्झौता अनुसार रेडक्रसले बिरामीलाई निःशुल्क रगत वितरण सुरु गरेको हो । यसका लागि लुम्बिनी प्रदेश सरकारले रेडक्रसलाई आवश्यक बजेट ब्यवस्थापन गरिदिएको रेडक्रस बाँकेले जनाएको छ ।

कार्यक्रममा भेरी अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठ, अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर बद्री चापागाई, रेडक्रसका पुर्व केन्द्रिय उपाध्यक्षद्धय अजितकुमार शर्मा र सनत रेग्मी, राजकुमार वर्मा, रेडक्रस बाँकेका पदाधिकारी, रेडक्रस अभियन्ता दुखिराम लोनिया, राकेशकुमार श्रीवास्तव, वडा नम्बर–९ का वडाअध्यक्ष गोविन्द रेग्मी, समाजसेवी राजन रानामगर लगायतको उपस्थिती रहेको थियो ।

प्रदेश सरकारले सरकारी अस्पतालमा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने नीति अनुसार भेरी अस्पतालमा सेवा सुरु गरेको हो । जुन अन्य सरकारी अस्पतालमा पनि बिस्तार हुने बताइएको छ ।

२०७९ साल भदौ १५ गते प्रदेश निःशुल्क रक्तसञ्चार व्यवस्थापन कार्यविधि २०७८ अनुसार अस्पताल रक्तसञ्चार व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार निःशुल्क रगत उपलब्ध गराउने कार्यको शुभारम्भ भएको हो ।