सिङ्गो दलित बस्ती शौचालयविहीन


सिङ्गो दलित बस्ती शौचालयविहीन

सप्तरी २० भदौ : सप्तरीको डाँक्नेश्वरी नगरपालिका–५ तरहीस्थित सिङ्गो दलित मुसहर बस्ती अझै शौचालयविहीन छ ।

दलित समुदायको बाक्लै बसोबास रहेको उक्त बस्तीमा एउटा पनि शौचालय नहुँदा उनीहरू बस्ती नजिकैको खोलाको खोल्साखोल्सी, बाँसघारी र खेतबारीमा शौचका जाने गर्दछन् । करिब एक सय २५ घरधुरीमा करिब तीन सयको जनसङ्ख्या बसोबास रहेको उक्त बस्तीका स्थानीयवासीहरू दिसा पिसाबका लागि बिहानैदेखि नजिकैको बाँसघारी र खेतबारीमा जाने गरेको स्थानीय मधु सदाले बताए ।

‘सिङ्गो बस्तीभरि कसैको घरमा शौचालय छैन, त्यसैले बस्तीका महिला र पुरुष सबै नजिकैको बाँसघारी, खोल्साखोल्सी र खेतबारीमा दिसा गर्न पुग्ने गर्छन्’ उनले भने,‘यसका कारण एकातिर बस्तीमा दुर्गन्ध फैलिने गर्छ ।’ डाक्नेश्वरी नगरपालिकाले सबै वडाका घरघरमा शौचालय बनिसकेको जनाउँदै २०७६ सालमै सो वडालाई खुला दिसामुक्त घोषणा गरिएको थियो ।

सिङ्गो दलित बस्तीमा अझै शौचालय बन्न सकेको छैन । उक्त बस्ती नजिकै रहेको चौधरी, साहलगायत जातिको बस्तीमा शौचालय भए पनि छेउमै रहेको मुसहर समुदायको बाक्लो बसोबास रहेको दलित बस्ती भन्ने शौचालयविहीन रहेको सदाको भनाइ छ ।

Kids Festival 2022
kanti aarogya hospital

शौचालय बनाउनु आवश्यक रहेपनि आफ्नो जग्गा नहुँदा शौचालय बनाउन नसकिएको स्थानीयले जनाएका छन् । ‘शौचालय त चाहिन्छ, बनाउने इच्छा पनि छ’, स्थानीय रामदेव सदाले भने, ‘तर शौचालय बनाउने जग्गा छैन, मुस्किलले एक वटा घर बनाएर परिवारसहित बसिरहेका छौँ ।’ अन्य कारणभन्दा पनि जग्गाकै अभावमा शौचालय बनाउन नसकिएको उनको कथन छ । सो बस्तीमा अधिकांश स्थानीय साहु महाजनकमा हरवाचरवाको रुपमा काम गर्दै आएका छन् ।

ऐलानी जग्गामा घर बनाएर बस्दै आएका दलित मुसहर समुदायलाई जग्गासँगै आर्थिक विपन्नताले पनि शौचालय बनाउन समस्या भएको छ । आर्थिक विपन्नता, जग्गाको अभावलगायतका कारणले आफू अझै शौचालय बनाउन नसकिएको अर्का स्थानीय राधादेवी सदाले सुनाइन् ।

‘मजदूरी गरेर कमाएको पैसाले बिहान बेलुकाको गुजारा चलाउनै धौधौ हुन्छ’, राधादेवीले भनिन्,‘शौचालय बनाउन कम्ती पनि रु १५÷२० हजारसम्म पर्छ, तर त्यति पैसा नै छैन् कहाँबाट बनाउनु ?’ चाहेर पनि पैसाको समस्या चर्पी बनाउन नसकिएको उनको दुखेसो छ ।

गत २०७५ सालमा ऋण लिएर भए पनि फुसको छाप्रो हालेर स्थानीयले बनाएको फुसको छाप्रो शौचालय वर्षा र बाढीले क्षतिग्रस्त भए यता शौचालय बनाउन नसकिएको बताएका छन् । दलित समुदायमा शौचालयको ठूलो समस्या रहेकाले शौचालय बनाउन प्रेरित गर्दै आएको सो बस्तीमा हरवाचरवा सशक्तीकरणको कार्यक्रम सञ्चालन गर्दै आएको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्तासमेत रहनुभएका स्थानीय नरेश सदाको भनाइ छ ।

‘शौचालय बनाउनुस्भन्दा उहाँहरू जग्गा छैन, पैसा छैन भन्नुहुन्छ’, उनले भने,‘हामीले शौचालयका लागि संस्थाको तर्फबाट र अन्य निकायबाट पनि सहयोग जुटाइ दिन पहल गरिरहेका छौँ, तर मुख्यतः जग्गाको अभाव छ ।’ कतिपयले शौचालय बनाउने जग्गा नभएर नबनाएका हुन भने कतिपयले सरकारले नै शौचालय बनाइन्छ कि भन्ने सोच राखेकाले नबनाएको डाक्नेश्वरी–५ का वडाध्यक्ष रमेशकुमार चौधरीले बताए । ‘दलित बस्तीमा जग्गा अभाव त छ, तर जग्गा भएकाले पनि सरकारले शौचालय बनाइदिन्छ, शौचालय बनाउन खर्च किन गर्ने ? भन्ने सोचले त्यस बस्तीमा शौचालय बन्न नसकेको हो’, उनले भने । -रासस