नेपालगन्ज २३ भदौ : कम्युनिष्टलाई लोकतन्त्रप्रति प्रतिबद्ध गराउनका लागि गठबन्धन आवश्यक परेको नेपाली काँग्रेसका सह–महामन्त्री किशोरसिंह राठौरले बताएका छन् ।
नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर– ३ कार्यसमितिले बिहीबार खजुरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
बाँके क्षेत्र नम्बर–३ बाट समेत प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस भएका राठौरले भने, ‘यो देशका कम्युनिष्टरु विकासको पक्षधर हुन सकेनन्, कम्युनिष्ट भन्नेहरुलाई जनताको विकास, उन्नति, प्रगति र पक्षमा बोल्न लगाउनुछ, त्यसकारण यो गठबन्धनको आवश्यकता भएको हो, लोकतन्त्रप्रति प्रतिबद्ध गराउनका लागि गठबन्धन आवश्यक छ ।’
नेपालका कम्युनिष्टहरु विकासको पक्षधर हुन नसकेको राठौरको दावि छ । संविधान कार्यान्वयन गर्न नसक्ने अवस्था आएपछि देशको नेतृत्व काँग्रेस सभापति शेरबहादुर देउवाले सम्हालेको बताउँदै उनले यो देशमा सच्चा कम्युनिष्ट पार्टी नरहेको बताए ।
‘यो देशमा कुनै कम्युनिष्ट पार्टी छैनन्, तर धेरै पार्टी छन्’ राठौंरले भने । नेपाली काँग्रेसले ल्याएको शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, सहकारी नीतिका कारण देशमा विकासले फड्को मारेको उनको दाबी छ ।
‘जनताको साथमा काँग्रेस’ अभियान कार्यक्रमलाईलाई सम्बोधन गर्दै राठौरले मंसिर ४ गते हुने निर्वाचनमा पार्टीलाई जिताउन गाउँ–गाउँ र वडा–वडामा परिचालन हुन नेता कार्यकर्तालाई निर्देशन दिए ।
‘आजैका दिनदेखि तपाईंहरु गाउँ–गाउँमा जानुस्, पार्टीलाई जिताउने अभियानमा खटिनुस् ।’ उनले पद, पैसा र पावरले राजनीति विकृत बनिरहेको भन्दै संस्कार, सोँच र कार्यशैली परिवर्तन जरुरी रहेको बताए ।
सोक्रममा उनले आफू बाँके–३ बाट समेत प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस भएपनि आफू बाँकेको पुरानो बासिन्दा भएको र बर्दियालाई राजनीतिक कर्मथलोको रुपमा रोजेको स्पष्ट पारे । उनले बाँकेमा चुनाव लड्न आउने परिस्थिति बने सबैसंग सल्लाह गर्ने बताए ।
यस्तै उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले एक ढिक्का भएर निर्वाचनमा होमिन आह्वान गरे । उनले बाँकेमा काँग्रेस सुदृढ अवस्थामा रहेकाले सिट बाँडफाँड गर्दा ध्यान पुर्याउनुपर्ने बताए । मतभारका आधारमा सिट बाँडफाँड हुनुपर्ने गौडेलको भनाई छ ।
कार्यक्रमलाई पूर्व जिल्ला सभापति कृष्णमान श्रेष्ठ, संविधानसभा सदस्य बादशाह कुर्मी, आशा बिक, महासमिति सदस्यहरु मेघराज ओली, कपीलदेव शर्मा, लक्ष्मीनारायण शाह, दुखीराम लोनिया, उमा थापा, देवबहादुर खत्री, नेपाली काँग्रेस बाँकेका सहसचिव बिनोद थारु, जिल्ला सदस्य देउफल यादव, पार्टीका खजुरा गाउँपालिका सभापति रमेश सिजाली, जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, खजुरा गाउँपालिकाकी उपाध्यक्ष मञ्जु मल्ल, जानकी गाउँपालिका वडा नम्बर –६ का वडा अध्यक्ष जगदिश हरिजन लगायतले सम्बोधन गरेका थिए । क्षेत्रीय सभापति नक्की खाँको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव ज्ञानबहादुर ओलीले गरेका थिए ।
थप समाचार
गठबन्धनमाथि प्रश्न : हाम्रा भावना विपरित निर्णय भए परिणाम उल्टाउने चेतावनी