गलेश्वर(म्याग्दी) २८ भदौ : म्याग्दीकी एक महिलाले पितृ कार्य (श्राद्ध) मा खर्च गरिने रकम क्यान्सर रोगीको उपचारका लागि सहयोग गरेकी छन् ।
म्याग्दीको बेनीनगरपालिका–२ बगरफाँटकी शिवकुमारी घिमिरेले आफ्ना स्वर्गीय ससुराको श्राद्धको तिथि पारेर आज पेटको क्यान्सर रोगबाट पीडित रघुगङ्गा गाउँपालिका–२ राखु भगवतीका ४७ वर्षीय रीमबहादुर विकलाई आर्थिक सहयोग गरेकी हुन् ।
आर्थिक अवस्था अत्यन्त कमजोर रहेका विकको आर्थिक उपचारमा समस्या भएको थाहा पाएपछि घिमिरेले आफ्ना दिवङ्गत ससुरा रुद्रबहादुर घिमिरेको श्राद्ध तिथि पारेर रु सात हजार पाँच सय पाँच आर्थिक सहयोग गरेको क्यान्सर पीडित विकले जानकारी दिए ।
स्व. ससुरा घिमिरे, स्व. सासु कालिका घिमिरे र स्व. पति भद्रबहादुर घिमिरेको सम्झनामा पोखरास्थित गण्डकी मेडिकल कलेज (जीएमसी) अस्पतालमा उपचारत विकलाई बेनीको कालीपुल बसपार्कमा भेटेर उक्त रकम हस्तान्तरण गरेको सहयोगदाता घिमिरेले बताए ।
‘उहाँको अवस्था अत्यन्तै दयनीय रहेछ, आर्थिक अभावकै कारण उपचार प्रभावित भएको खबर पाएपछि सक्दो सहयोग गरेकी हुँ’, घिमिरेले भनिन्, ‘क्यान्सरजस्तो जटिल रोगले थलिएका भाइको उपचारमा थोरै भए पनि सहयोग गर्न पाएँ खुसी लागेको छ ।’
एक वर्षदेखि पेट दुख्ने समस्याले ग्रसित विकको उपचारका क्रममा गत जेठ २७ गते भरतपुर क्यान्सर अस्पतालले पेटमा क्यान्सर भएको पत्ता लागेको थियो । औषधि उपचार गरिरहेका विकलाई चिकित्सकले पेटको शल्यक्रिया गर्नुपर्ने स्वास्थ्य सल्लाह दिएका छन् ।
हाल क्यान्सर रोगको अप्रेसन गर्न महँगोे खर्च लाग्छ। अहिले शरीरमा ‘किमो’ र औषधि प्रयोग भइरहेको छ। पेटको क्यान्सरको शल्यक्रिया गर्न रु २० लाख बढी खर्च हुने अस्पतालले बताएको विकले जानकारी दिए ।
दैनिक आरन र फर्निचरको काम (काठे काम) गरेर परिवारको गुजारा चलाइरहेका विकलाई क्यान्सर रोगको उपचारमा आर्थिक जुटाउन परिवारलाई समस्या भएको छ । पतिको क्यान्सर रोगको उपचारका लागि आर्थिक सहयोग गरिदिन पत्नी लक्ष्मी विकले अपिल गरेकी छन् । -रासस
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु