नेपालगन्ज २८ भदौ : दशैं, तिहार र छठका लागि आजदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंंकले नजिकिंदो चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही सुविधाको व्यवस्था गरेको हो ।
सर्वसाधारणले काठमाडौं उपत्यकामा २९ भदौ र उपत्यका बाहिर भने २ असोजदेखि नयाँ नोट साट्न सक्ने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल बताउँछन् ।
राष्ट्र बैंकले २६ भदौदेखि बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही सुविधा प्रदान गरिसकेकोछ । भने सर्वसाधारणले उपत्यकामा आज (२९ भदौ) तथा उपत्यका बाहिर २ असोजबाट नयाँ नोट सटही गर्न सक्ने उनले बताए ।
गत वर्ष जस्तै यसवर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाउनेछन् । ५, १०, २०, ५० र १०० रुपैयाँसम्मका नोट एक÷एक वटा बण्डल हुने गरी १८ हजार ५०० रुपैयाँमा सीमा तोकिएको हो ।
नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रिय कार्यालय र प्रादेशिक कार्यलयका साथै बैंक तथा वित्तीय संस्थाहरुका विभिन्न शाखा कार्यालयमा गएर पनि नयाँ नोट साट्न सक्नेछन् ।
राष्ट्र बैंकले बैंकहरुलाई नोट सटही सुविधा प्रदान गर्ने शाखा हेरर ५ देखि १० करोडसम्म प्रदान गरेकोछ । राष्ट्र बैंकले नियमित रुपमा नै आफ्ना कार्यालयहरु र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट वितरण गरिरहेको भएपनि चाडपर्वमा नयाँ नोट सटही उच्च हुने हुँदा राष्ट्र बैंकले सोही अनुसार व्यवस्थापन गर्दै आएको छ ।
राष्ट्र बैंकसँग साना दरका १० अर्ब भन्दा बढी नयाँ नोट मौज्दात रहेको र केही छपाइ भएर आउने क्रममा रहेकोले चाडपर्वमा नयाँ नोट सटही सुविधा उपलब्ध गराउन समस्या नरहेको उनले बताए । गत वर्ष ८ अर्बको नयाँ नोट सटही भएको यो वर्ष केही कम माग हुन्छ भन्ने अनुमान रहेकोले सोही अनुसार तयारी रहेको उनको तर्क छ ।