परिवारको जीवन रक्षाका लागि जबरा छोरीको अपील
File Photo
नेपालगन्ज २ असोज : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सुरक्षार्थ खटिएका निजी सुरक्षा अधिकृत फिर्ता बोलाइएका छन् ।
गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालय नक्सालले जबराको दुईजना निजी सुरक्षा अधिकृतलाई फिर्ता बोलाएको हो ।
स्कर्टिङमा खटिने प्रहरी टोलीलाई पनि प्रहरी प्रधान कार्यालय नक्साल बोलाइएको छ । औपचारिक समारोहमा प्रयोग हुने ‘भीभीआईपी’ कार पनि फिर्ता ल्याएको छ । ‘पछुवा’का रुपमा प्रयोग हुने जीप पनि प्रधान कार्यालयमा फिर्ता गराइएको छ ।
संसदको अन्तिम अधिवेशन सकिएपछि जबराले आईतबार सर्वोच्च अदालत जाने प्रयास गरेका थिए । तर, ‘प्रहरीले नजरबन्द’ गरेको भन्दै जबरा सरकारी निवासबाट निस्किएका थिएनन् । उनले सर्वोच्च अदालत जाने प्रयास गरेको भए अवरोध गर्ने कानून व्यवसायीको तयारी थियो ।
विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ अनुसार प्रधानन्यायाधीशले ‘अति विशिष्ट स्तर’को सुरक्षा पाउँछन् । जसअनुसार नेपाली सेनाका १५ र नेपाल प्रहरीका २ जना अधिकृत सुरक्षार्थ खटिन्छन् ।
यसैबीच, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकी छोरी सुनिधी राणाले आफ्नो परिवारको जीवन रक्षाका लागि पहल गरिदिन नेपाली जनतासँग आग्रह गरेकी छन् ।
जबराकी छोरी सुनिधिले आफूहरुको परिवारलाई सरकारले नजरबन्दमा राखेर अत्याचार गरेको भन्दै बाँच्न पाउने आफूहरुको अधिकार सुरक्षित गर्न पनि नेपाली जनताले साथ दिनुपर्ने बताइन् ।
बालुवाटारस्थित प्रधानन्यायाधीशको निवासबाट आईतबार अपरान्ह गाडीमा बाहिर निस्कने क्रममा उनले आफूहरुलाई गठबन्धन सरकारले बाहिर निस्कन र भित्र पस्न समेत नदिएर अत्याचार गरेको उल्लेख गर्दै नेपाली जनताको साथ चाहिएको बताइन ।
देशको माया हुने, अदालतको माया हुने जो कोहीले पनि आफूहरुलाई साथ दिएर सरकारको दमनबाट उन्मुक्ति दिलाई दिन पनि नेपाली जनताबाट ठूलो भरोसा लिएको बताइन् । उनले भावविह्वल हुँदै स्कुलमा रहेको बच्चा ल्याउने नदिने, औंषधि ल्याउन पनि नदिने गरी प्रहरीहरु सरकारले परिचालन गरेको दुःखेसो गरिन् ।
हामीमाथि सरकारले आफ्नो पावर देखाएर किन यस्तो अराजकता फैल्याएको छ ? भन्ने कुरा आफूहरुले बुझ्न नसकेको उल्लेख गर्दै सुनिधिले त्यसबारे तथ्य बुझ्न पनि नेपाली जनतालाई आग्रह गरिन् ।
थप समाचार
चोलेन्द्रको वैयक्तिक स्वतन्त्रता, आवतजावत र गोपनीयताको हकको सम्मान गर्न आयोगको आग्रह