खजुरामा सप्तमीको दिन दशै महोत्सव हुने


खजुरामा सप्तमीको दिन दशै महोत्सव हुने

नेपालगन्ज ३ असोज : नेपालीहरुको महान पर्व बडा दशैंको अवसर पारेर बाँकेको खजुरामा दशैं महोत्सव आयोजना गरिने भएको छ । स्थानीय एक नम्बर बजारमा आयोजना गरिन लागेको दशैं महोत्सव तथा साँस्कृतिक कार्यक्रम २०७९ को सोमबार सचिवालयको उद्घाटन गरिएको छ ।

आदर्श युवा बचत समुह (आदर्श युवा क्लव) खजुराले असोज १६ गते सप्तमीका दिन अयोजना गर्न लागेको महोत्सव सचिवालयको उद्घाटन खजुरा गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष पुर्णबहादुर भण्डारीले गरे ।
उद्घाटन गर्दै वडाध्यक्ष भण्डारीले युवाहरुको समुहले सञ्चालन गर्न लागेको महोत्सवलाई सबैले सहयोग गर्नुपर्ने बताए ।

आफ्नो परम्परा, रीतिथिति जोगाउन युवाहरु लागेको प्रति खुसि व्यक्त गर्दै अध्यक्ष भण्डारीले महोत्सवको सफलताको शुभकामना दिए ।

स्थापनाकालदेखि नै सामाजिक कार्य गर्दै आइरहेको उक्त युवाको समुहले विगतका वर्षहरुमा सामाजिक कार्यसगैं विभिन्न पर्वहरुलाई हर्ष उल्लासका साथ मनाउन निरन्तर रुपमा साँस्कृतिक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । यसपटक दशैं पर्वलाई बृहत बनाउन शुभकामना आदान प्रदान, साँस्कृतिक कार्यक्रम, स्थानीय सामुदायिक विद्यालयलाई डस्टविन वितरणसगैं निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिने दशैं महोत्सव तथा सास्कृतिक कार्यक्रम २०७९ का संयोजक खगेन्द्र दाहालले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

आदर्श युवा समुहले खजुरामा एक किसिमको छुट्टै छाप बसाल्न सफल भएको भन्दै युवा नेता तिलकविर सुनारले युवाको अग्रसरतालाई सबैले साथ दिन आवश्यक रहेको बताए । आर्दश माविका प्रधानाध्यापक राजेन्द्र सापकोटाले महोत्सवले खजुराको पहिचानलाई थप चिनाउन मद्दत गर्नेमा विस्वास व्यक्त गरे ।

अरुणोदय माविका प्रधानाध्यापक ऋषिकेश जिसीले महोत्सवमा रमाउने मात्र नभएर सामाजिक कार्यप्रतिको क्रियाशीलताले थप रौनकता थप्ने बताए ।

बिगतका वर्षहरु जस्तै यस वर्ष पनि खजुरा बजार एक नम्बरमा थप व्यवस्थित तबरले ‘सामाजिक सद्भाव कायम राख्दै हर्ष उमङ्गका साथ पर्व मनाऔं' भन्ने नारा सहित ‘दशैं महोत्सव तथा साँस्कृतिक कार्यक्रम’मा राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति, स्वास्थ्य शिविर, स्थानीय विद्यालयलाई सहयोग साथमा उपहार योजनासहित भव्य समारोहकाविच कार्यक्रम सञ्चालन गर्ने आयोजक आदर्श युवा बचत समुहका अध्यक्ष देवबहादुर कुंवरले जानकारी दिए ।

महोत्सवमा खजुरा, नेपालगन्ज र बर्दिया लगाएतबाट अवलोकन गर्न आउने समुहका सचिव सुवास निरौलाले जानकारी दिए ।