ल्याण्डफिल्ड साइटमा वृक्षारोपण


ल्याण्डफिल्ड साइटमा वृक्षारोपण

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाद्वारा फोहर मैला व्यवस्थापन केन्द्र (ल्याण्डफिल्ड साइट) मा वृहत् वृक्षारोपण गरिएको छ ।

उपमहानगरपालिका वडा नम्बर २३ स्थित ल्याण्डफिल्ड साइटको क्षेत्रमा एक हजार विरुवा रोपिएको हो । एक कर्मचारी एक विरुवा, एक जनप्रतिनिधि दुई विरुवा
नारासहित वृहत् वृक्षारोपण गरिएको हो ।

वृक्षारोपण कार्यक्रमको शुभारम्भमा बोल्दै उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शम्शेर राणाले ल्याण्डफिल साइटको वृक्षारोपणले वातावरण स्वच्छ हुनुका साथै सुन्दरता पनि बढाउने भएकाले पर्यटकको पनि आकर्षणको केन्द्र बन्न सक्ने विश्वास व्यक्त गरेका थिए ।

उनले नेपालगन्जलाई विकासको उत्कृष्ट नमूना र हरित शहर बनाउने उद्घोष पनि गरेका छन् । उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सरसफाईकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी सहितको ठूलो उपस्थिति रहेको कार्यक्रममा नगर प्रमुख राणाले सगुनको विरुवा रोपेर वृक्षारोपण शुरु गरेका थिए ।

साइटको किनार/ खाली स्थानमा सगुन, अमला, कोइराला, शितल चिनी र कागती लगायतका विरुवा रोपिएका छन् । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, वातावरण इन्जिनियर प्रकाश डिसी, सुरक्षा अधिकारी लगायतले विरुवा रोपेका थिए ।