नेपालगन्ज डुबेको ५ दिनपछि मेयर विष्ट तातिए, जेसिबीको सहायतामा नाला सफाई


नेपालगन्ज डुबेको ५ दिनपछि मेयर विष्ट तातिए, जेसिबीको सहायतामा नाला सफाई

नेपालगन्ज २४ असोज : निरन्तरको भारी वर्षापछि अबरुद्ध नेपालगन्ज उपमहानगरपालिकाका नालाहरुको अनुगमन गर्दै सहज निकासका लागि नाला सफाई गरिएको छ ।

अविरल वर्षाले नेपालगन्ज डुवानमा परेको ५ दिनपछि सोमबार दिउँसो नेपालगन्ज वडा नम्बर २ र ४ का विभिन्न बस्तीहरुमा पुगी अवरुद्ध नालाहरुलाई सहज निकास दिन जेसिबी प्रयोग गरिएको हो ।

जेसिबीसहित फिल्डमा पुगेको नगर प्रमुख प्रशान्त विष्ट नेतृत्वको टोलीले वडा नम्बर ४ स्थित द रेडिसन होटल छेउको अबरुद्ध नाला, वडा नम्बर ४ कै तत्कालीन लक्ष्मी चलचित्र मन्दिर पछाडिको नाला, वडा नम्बर २ स्थित बागेश्वरी मन्दिरको उत्तरतर्फको नालाको अवलोकन गर्दै जेसिबीको सहायताले नाला सफाई गरिएको छ ।

यस्तै डुबानग्रस्त सेतु विक चोकको बस्तुस्थिति पनि अवलोकन गर्दै पानीको सहज निकासको प्रबन्धबारे अनुगमनमा रहेका इन्जिनियरहरुसंग छलफल गरिएको छ । द रेडिसन होटल छेउमा भासिएको नाला र पानीको सहज निकासलाई थुनेको पर्खाल समेत भत्काइएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

नगर प्रमुख विष्टसंगै प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, वडा नम्बर २ का वडा अध्यक्ष मनोजकुमार श्रेष्ठ, नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव चिरञ्जिवी ओली लगायतको टोली अवलोकनमा निस्किएको थियो ।

नगर प्रमुख विष्टले नालाहरुको बस्तुस्थिति बुझेर अब ठोस कार्ययोजनाका साथ दीर्घकालीन समाधान खोज्ने गरी अगाडि बढ्ने बताए ।

‘अबको १५ दिनभित्र नालाहरुको लगत संकलन गरेर यथार्थ विश्लेषण गर्छौं, त्यही अनुसार कार्ययोजना अगाडि बढाउँछौं, दीर्घकालीन समाधान खोज्ने दिशामा अगाडि बढ्छौं’ विष्टले भने ।

छोटो समयमा भारी बर्षा हुँदा नालाले पानीको सहज निकास धान्न नसकेको, नालाहरुमा जथाभावी फोहर फाल्ने प्रबृत्ति र कतिपय ठाउँहरुमा नाला अतिक्रमण गरेर विभिन्न संरचना बनाइएका कारण पनि डुबानको समस्या देखिएको वातारण इन्जिनियर प्रकाश डिसीले बताए ।

थप समाचार

थोरै वर्षामा डुबिरहने नेपालगन्ज