अस्ताए शताब्दी पुरुष सत्यमोहन

जोशीको अन्तिम संस्कार नहुने, मुलुकले अभिभावक गुमायो : राष्ट्रपति


अस्ताए शताब्दी पुरुष सत्यमोहन

नेपालगन्ज ३० असोज : संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज (आईतबार) बिहान निधन भएको हो ।

जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो । अस्पताल बसाइको सुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।

उपचारकै सिलसिलामा आज (आईतबार) बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन भएको हो ।

वि.सं. १९७७ वैशाख ३० गते जन्मिएका उनी पाटन दरबार क्षेत्र नजिक बखुम्बहालमा बस्दै आएका थिए । संस्कृतिविद् जोशी २०१२ सालमा स्थापित मदन पुरस्कार २०१३ सालमा पहिलोपटक र तीनपटकसम्म पाउने एक मात्र व्यक्तित्व हुन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

उनका कृतिहरू ‘हाम्रो लोक संस्कृति’ ले २०१३ सालमा, ‘नेपाली राष्ट्रिय मुद्रा’ ले २०१७ सालमा र ‘कर्णाली लोक संस्कृति’ ले २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए ।

उनको जन्म शताब्दीको अवसरमा नेपाल सरकारले एक हजार रुपैयाँको चाँदीको सिक्का र १० रुपैयाँको हुलाक टिकटसमेत प्रकाशित गरेको थियो । जोशी १०० वर्ष पुग्दा ललितपुर महानगरपालिकाले सार्वजनिक विदासमेत दिएको थियो । ललितपुर महानगरपालिकाको दोस्रो नगरसभाले जोशीलाई निःशुल्क गाडी र सुरक्षा उपलब्ध गराउने निर्णय गरेको थियो ।

२०७१ सालमा त्रिमूर्ति निकेतनले उनलाई ‘शताब्दी पुरुष’ सम्मान दिएको थियो । तत्कालीन उपप्रधानमन्त्री बामदेव गौतम र कानूनमन्त्री नरहरि आचार्यले संयुक्त रुपमा जोशीकै उचाइ बराबर पाँच फिट अग्लो सप्तनागजडित ताम्रपत्र र पाँच लाख नगदसहित शताब्दी पुरुष उपाधि प्रदान गरेका थिए ।

२०७० सालमा उनी पद्मश्री साधनाबाट सम्मानित भएका थिए । नेपाल सरकारले उनलाई २०७९ को संविधान दिवसको अवसरमा ‘राष्ट्र गौरव’ मानपदवी प्रदान गर्ने निर्णय समेत गरेको थियो ।

उनी राष्ट्रिय समाचार समिति र चिनियाँ रेडियोमा समेत आबद्ध थिए । किष्ट मेडिकल कलेजले सत्यमोहन जोशी र उनकी पत्नीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको थियो ।

जोशीको अन्तिम संस्कार नहुने

शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अध्ययनका लागि नजलाई राखिने भएको छ । उनको शरीर नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमै राखिनेछ ।

जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गरेका थिए । किष्ट मेडिकल कलेजमा आईतबार बिहान ७ बजेर ९ मिनेटमा उनको निधन भएको थियो ।

उनको पार्थिव शरीररलाई अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका परिसरमा राखिएको छ । त्यसपछि शरीर नगल्ने केमिकल प्रयोग गरेर उनको शरीर अध्ययनका लागि राखिने छ ।

सत्यमोहनले मृत्युपछि आफ्नो शरीर किष्ट मेडिकल कलेजलाई अध्ययनका लागि शरीर दान गर्ने घोषणा पहिल्यै गरेकाले उनकै ईच्छा अनुसार हुने ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बताए ।

मुलुकले अभिभावक गुमायो: राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट पीडाबोध भएको बताएकी छन् । जोशीको निधनबाट मुलुकले एक अथक् स्रष्टा एवं अभिभावक गुमाएको पनि उनले बताएकी छन् ।

आज ट्वीट गर्दै उनले भनेकी छन्, ‘वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक् स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको छ ।’

सत्यमोहनको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको स्रोत भएको पनि उनले उल्लेख गरेकी छन् ।

यसैबीच, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज मध्याह्न १२ देखि अपराह्न ४ बजेसम्म ललितपुर महानगरको प्रांगणमा राखिने ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।

त्यसक्रममा उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा ललितपुर महानगरको प्रांगणमा उपस्थित हुने उनले बताए ।