उपमहानगर पूर्ण खोपयुक्त घोषणा


उपमहानगर पूर्ण खोपयुक्त घोषणा

नेपालगन्ज : नेपालगन्ज उपमहानगरलाई आईतबार पूर्ण खोपयुक्त उप–महानगरको रुपमा घोषणा गरिएको छ । जन्मेदेखि १५ महिना उमेर समुहसम्मका सबै बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार सम्पुर्ण खोप लिएको पाईएपछि घोषणा गरिएको हो ।

जिल्ला समन्वय समिति बाँकेका संयोजक तथा जिल्ला खोप कार्यक्रमका अध्यक्ष समेत रहेका अजय कुमार श्रीबास्तवले नेपालगन्ज उपमहानगरलाई पूर्ण खोप युक्त उप–महानगर भएको घोषणा गरेका हुन् ।

सो घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालगन्ज उपमहानगरका सबै जनप्रतिनिधिलाई स्वास्थ्य र शिक्षाको क्षेत्र पनि विकास गर्ने क्षेत्र हो भन्ने हेक्का राखेर काम गर्न सुझाव दिए ।

उनले सबै सुविधायुक्त नेपालगन्ज उपमहानगर हरेक कुरामा पछाडि पर्नु दुर्भाग्य भएको भन्दै शिक्षा, स्वास्थ्यलाई प्राथामिकतामा राख्न आग्रह गरे । उनले स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय काम गर्दै आएका महिला स्वास्थ्य स्वयमसेविकाको लागि नेपालगन्ज उपमहानगरले उचित सम्मान र व्यवस्था गर्न पनि निर्देशन दिए ।

Kanti Aarogya Hospital Nepalgunj

नेपालगन्ज उपमहानगरमा खुला दिशामुक्त अभियान जिल्ला कै अन्तिममा भएको, साक्षरता घोषणा कार्यक्रमतर्फ चासो नदिएको, पूर्ण खोप घोषणा कार्यक्रम पनि छैठौं पालिकाको रुपमा रहेको भन्ने जनगुनासो उठेको थियो ।

नेपालगन्ज उपमहानगरका प्रमुख डा. धवल शम्शेर राणाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहजिकरण स्वास्थ्य शाखाका सह–संयोजक हरिहर तिवारीले गरेका थिए ।

सो अवसरमा वडा अध्यक्ष, स्वास्थ्यकर्मीलगायतलाई सम्मान गरिएको कार्यक्रमलाई स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख प्रेम केसी, वडा अध्यक्षहरुको तर्फबाट वडा नम्बर २ का वडा अध्यक्ष सुनिल सिंह हमाललगायतले आफ्ना विचार राखेका थिए ।

नेपालगन्ज उपमहानगरका १ देखि २३ वडामा जन्मदेखि १५ महिनासम्मका ३ हजार २ सय १५ बालबालिका र १६ देखि २३ महिनाका १ हजार ९ सय ६८ बालबालिकाले नेपालगन्ज उपमहानगरका २३ वडामा रहेका ७४ वटा खोप केन्द्रबाट खोप सेवा लिएका छन् ।