नेपालगन्ज १ कार्तिक : नेकपा माओबादी केन्द्रले बाँके क्षेत्र नम्बर–३ ‘क’ बाट प्रदेश सभातर्फका उम्मेदवार ईन्द्रप्रसाद खरेल (आइपी) लाई हटाएर दलबहादुर सुनारलाई उम्मेदवार बनाउने तयारी गरेकोछ ।
लामो समयसम्म एमालेको राजनीति गरेका सुनार संविधानसभा सदस्य एवं पूर्व राज्यमन्त्रीसमेत हुन् । एमालेबाट माधवकुमार नेपालको समूह अलग भएपछि एकीकृत समाजवादीमा लागेका नेता सुनार सोमबार साँझ नेकपा माओवादीमा प्रवेश गरेका थिए ।
पहिले नै बाँके क्षेत्र नम्बर–३ प्रदेश (क) मा माओवादीले ईन्द्रप्रसाद (आइपी) खरेललाई अगाडि सारिसकेकोछ । माओबादीबाट आधिकारिक उम्मेदवार खरेल निर्वाचन गतिविधिमा होमिरहँदा नेकपा (एकीकृत समाजवादी)का नेता सुनार माओबादीमा प्रवेश गरेका हुन् ।
माओबादी उच्च स्रोतका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’संग भएको विशेष छलफल र सहमती अनुसार खरेललाई हटाएर सुनारलाई आधिकारिक उम्मेदवार बनाउन लागिएको हो ।
स्रोतले सेतोखरीलाई भन्यो–‘पार्टीलाई बलियो उम्मेदवार चाहिएको थियो । खरेलको माहोल पनि प्रभावकारी थिएन । नेकपा एसबाट विद्रोह गरि स्वतन्त्र उम्मेदवारी दिएका सुनारको प्रभावलाई हेरेर खरेललाई हटाएर सुनारलाई अगाडी सार्न लागेको हो ।’
माओबादी स्रोतले भन्यो–‘पार्टी अध्यक्ष प्रचण्डसँगको सहमति र छलफलबाट सुनार माओबादीमा प्रवेश गरेका हुन् । माओबादी प्रवेश गरेका सुनार नै आधिकारिक उम्मेदवार घोषणा गर्ने तयारी छ ।’
माओबादीमा सुनारको प्रवेशसंगै बाँके प्रदेश सभा–३ ‘क’ को कम्युनिष्ट राजनीतिले नयाँ मोड लिएको छ । सुनारको पार्टी प्रवेशसँगै माओवादीमा थप विवाद सिर्जना हुने देखिएको छ । किनभने पहिले नै बाँके क्षेत्र नम्बर–३ प्रदेश (क) मा माओवादीले ईन्द्रप्रसाद (आइपी) खरेललाई अगाडि सारिसकेकोछ ।
यता बाँके क्षेत्र नम्बर–३ ‘क’ बाट प्रदेश सभातर्फका उम्मेदवारी दिएका ईन्द्रप्रसाद खरेल (आइपी)ले आफू नै पार्टीको आधिकारिक उम्मेदवार भएको दावि गरे ।
सेतोखरीसँग कुरा गर्दै खरेलले भने–‘माओबादी र गठबन्धनबाट आधिकारिक उम्मेदवार म नै हुँ, यसमा दुविधामा नरहनुहोला ।’ खरेलले अगाडी थपे–‘जसले जे भने पनि मेरो उम्मेदवारी फिर्ता हुँदैन । म आफ्नो उम्मेदवारीमा अडिग छु । दलबहादुर सुनारजीले मलाई साथ दिन्छन् ।’
पार्टीले तपाईको ठाउँमा सुनारलाई उम्मेदवार बनाउँदै छ नी ? भन्ने सेतोखरीको जिज्ञासामा खरेलले भने–‘पार्टीको सिफारिसमा आधिकारिक उम्मेदवार म नै हुँ । मलाई पार्टीले टिकट दिएरै उम्मेदवारी दिएको हुँ । उम्मेदवार बनाउने सान्त्वना दिएका होलान । म बाहेक अरु उम्मेदवार होइन ।’
एउटै पार्टीबाट उही पदका लागि दुई जनाको उम्मेदवारी अघि सारेपछि अन्यौलता छायो नी ? सेतोखरीको जिज्ञासामा खरेलले भने–‘पार्टीको आधिकारिक उम्मेदवारीको विषयमा धेरै दुविधामा नपरौं । आधिकारिक उम्मेदवार म नै हुँ । सुनारजीले मलाई समर्थन गनुहुन्छ । पार्टी प्रवेश गर्ने अनि पार्टीको आधिकारीक उम्मेदवार विरुद्ध लड्ने यस्तो हुँदैन । पार्टीको आधिकारीक उम्मेदवार विरुद्ध जानेलाई कारबाही हुन्छ ।’
नेकपा एसबाट टिकट नपाएर विद्रोह गरि स्वतन्त्र उम्मेदवारी दिएका दलबहादुर सुनारले पार्टीको आधिकारिक उम्मेदवार को हो भन्ने विषयको अन्यौलता २–३ मा चिरिने बताए ।
स्वतन्त्र उम्मेदवारी दिएको ब्यक्ति किन माओबादीमा प्रवेश गर्नुभयो ? सेतोखरीको जिज्ञासामा सुनारले भने–‘उहाँ(खरेल)को जित्ने सक्ने अवस्था भएन । तपाई(मेरो)को जित्नसक्ने अवस्था रह्यो । स्वतन्त्र उम्मेदवारी दिदैँ गर्दा माहोल राम्रो भएन । तपाई यता(माओबादी)मा आइदिए सहज जित हुन्छ, भनेपछि माओबादीमा प्रवेश गरेको हुँ ।’
सेतोखरीसँग कुरा गर्दै उनले भने–‘आइपी खरेलसँग बसेर सल्लाह सहमती भएको रैनछ । त्यसो भएको भए यो जटिलता हुन्थेन । जबरजस्ती ब्याक भइदैन ।’
सुनारले भने–‘प्राविधिक जटिलता आएपछि माओबादीमा प्रवेश गरेको हुँ । उहाँ(खरेल) ब्याक हुने वा मलाई साथ दिने भन्ने म त्यसै भन्न सक्दिन । खरेलजीसँग मेरो सल्लाह र सहमती पनि भएको छैन । पार्टीको वैद्यानिक उम्मेदवार उहाँ (खरेल) नै हो ।’
सुनारले अगाडी थपे–‘माओबादीमा प्रवेश गरेपनि म स्वतन्त्र उम्मेदवार नै हुँ । म हसिया हथौडा लिएर लड्दैन, मेरो चुनाव चिन्ह पानीको धारा नै हो ।’
प्रदेश सभा –३ (क) मा माओबादीबाट ईन्द्रप्रसाद (आइपी) खरेल र सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार दिएका एकिकृत समाजबादीका नेता दलबहादुर सुनार माओबादीमा प्रवेश गरेपछि यतिबेला माओबादी दुई कित्तामा विभाजन भएकोछ । यद्यपी अहिलेसम्म उक्त प्रदेश सभामा माओवादी केन्द्रका आईपी र स्वतन्त्र उम्मेदवार सुनार दुबैको उम्मेदवारी कायम रहेको छ ।
लामो समयसम्म एमालेको राजनीति गरेका सुनार संविधानसभा सदस्य एवं पूर्व राज्यमन्त्रीसमेत हुन् । एमालेबाट माधवकुमार नेपालको समूह अलग भएपछि एकीकृत समाजवादीमा लागेका नेता सुनार सोमबार साँझ नेकपा माओवादीमा प्रवेश गरेका हुन् ।
माओवादी नेत्री एवं पूर्व उपसभामुख पूर्णाकुमारी सुवेदीले सुनारलाई पार्टी प्रवेश गराइन् । सुनार बाँके क्षेत्र नम्बर–३ प्रदेश (क) का स्वतन्त्र उम्मेदवार रहेका छन् । माओवादीले त्यहाँबाट आइपी खरेललाई अगाडि सारेको छ ।
यसअघि सुनारले प्रतिनिधी सभा क्षेत्र काँग्रेसको भागमा पर्ने भएपछि उनले प्रदेश सभा–३ ‘क’ मा चुनाव लड्ने आकांक्षा राखेर आफ्नो पार्टीमा टिकटका लागि सक्रिय भएका थिए । तर, उक्त प्रदेश सभा क्षेत्र सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रको भागमा परेपछि उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।
निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी फिर्ता लिन दिएको समयमा पनि सुनार आफ्नो निर्णयमा अडिग रहेका थिए । नेता सुनार माओवादी केन्द्रमा किन प्रवेश गरे भन्ने विषय रहस्यमय छ ।
पार्टीको टिकटमा उम्मेदवार दिएको उम्मेदवारी कायम रहेकै अवस्थामा स्वतन्त्र उम्मेदवारी कायम रहेका नेतालाई पार्टीमा प्रवेश गराएपछि माओवादी समर्थकहरु भने पार्टीका उम्मेदवारका विषयमा अलमलमा परेका छन् ।
अझ रोचक कुरा के भने आईपी स्थानीय कमिटीबाट सिफारिसमा नपरेको अवस्थामा पार्टीले तीनै आईपीलाई टिकट दिएपछि क्षेत्र नम्बर–३ का दर्जन बढी नेताहरुले माओवादी छाडेका छन् । तीनै पार्टी छाडेका माओवादी कार्यकर्ताहरु सुनारको पार्टी प्रवेशमा हावी देखिन्थ्यो । सुनारको पार्टी प्रवेशमा खरेलको उपस्थिती थिएन ।
सुनार र खरेलको उम्मेदवारीबारेमा माओवादी नेत्री एवं पूर्व उपसभामुख सुवेदीले छलफल गर्दै अगाडि बढ्ने प्रतिक्रिया दिएकी छन् । यद्यपि, अन्य नेताहरुले पार्टीले दलबहादुरलाई मत हाल्ने बताएको छ ।
माओवादीमा केहीले खरेल र केहीले सुनारलाई बोक्ने प्रष्ट देखिएको छ । सुनारले आफ्नो उम्मेदवारी कुनै हालतमा फिर्ता नहुने ठोकुवा गर्नुले माओवादीका नेताले सुनारलाई राम्रै आश्वासन दिएको बुझ्न सकिन्छ । दलबहादुर सोमबार माओवादीमा प्रवेश गरेपछि आईपी खरेलले सामाजिक सञ्जालमार्फत आफू गठबन्धन र माओवादीको आधिकारिक उम्मेदवार भएको जनाएका छन् ।
थप समाचार
बाँके क्षेत्र नम्बर–३ ‘क’ मा माओबादीका २ जना उम्मेदवार
बाँके क्षेत्र नम्बर–३ मा ट्विष्ट : नेकपा एसका नेता दलबहादुर माओबादीमा प्रवेश