नरैनापुरका अध्यक्ष शाहले खर्च ब्यहोरपछि पवनको आँखाको शल्यक्रिया


नरैनापुरका अध्यक्ष शाहले खर्च ब्यहोरपछि पवनको आँखाको शल्यक्रिया

नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले सम्पूर्ण उपचार खर्च ब्यहोरेपछि मटेहियाका पवन कुमार यादवको आँखाको शल्यक्रिया गरिएको छ ।

आर्थिक अभावका कारण बायाँ आँखाको ज्योती गुमाउने अवस्थामा पुगिसकेका नरैनापुर गाउँपालिका वडा नम्बर ५ मटेहिया महादेबनगरका यादवको आँखाको शल्यक्रिया गर्न अध्यक्ष शाहले सबै खर्च व्यहोरेका हुन् ।

स्थानीय महेन्द्र मावि मटेहियामा कक्षा ९ मा अध्ययनरत यादबको आँखामा दुई वर्ष अघि लागेको चोटका कारण दुई महिनादेखि उनले बायाँ आँखाले देख्न छाडेका थिए ।

आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि अध्यक्ष शाहले यादवलाई नेपालगन्जस्थित भिजन आँखा अस्पतालमा उपचार गराएका थिए । अस्पतालका आँखा विशेषज्ञ प्रचण्ड गौतमको सल्लाहपछि यादवलाई भैरहवास्थित श्री रण अम्बिका शाह आँखा अस्पतालमा लगिएको यादवका बुबा रामनरेश यादबले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

‘मलाई गरिब दुःखीको सेवा गर्न पाउँदा खुसी लाग्छ, एउटा जेहेन्दार विद्यार्थीले आँखाको ज्योती गुमाउने अवस्था देखेपछि मैले सहयोग गरेको हुँ, नरैनापुरका स्थानीयको सुखदुःखमा म संगसंगै हुन्छु, अध्यक्ष शाहले भने, ‘मैले पाउँदै आएको तलब भत्ता गरिब दुःखीहरुको सेवामा लगाउँदै आइरहेको छु ।’

गाउँपालिका अध्यक्षको सहयोगले आफ्नो छोरा आँखाको ज्योती गुमाउने अवस्थाबाट जोगिएको भन्दै रामनरेशले खुसी व्यक्त गरे । रामनरेशका अनुसार पवनको उपचारका क्रममा लागेको ५० हजार रुपैयाँ अध्यक्ष शाहले ब्यक्तिगतरुपमा ब्यहोरेका छन् ।