बाढी र डुबान प्रभावित राजापुरमा नेपाली सेनाको स्वास्थ्य शिबिर


बाढी र डुबान प्रभावित राजापुरमा नेपाली सेनाको स्वास्थ्य शिबिर

राजापुर(बर्दिया) ५ कार्तिक : बेमौसमी वर्षा र बाढीबाट प्रभाबित बनेको बर्दिया जिल्लाको राजापुरमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको छ ।

बाढी र डुबानका कारण खेतीबाली, भण्डार गरेको खाद्यान्न लगायत घर भत्किदाँ समस्यामा परेका स्थानीय बासिन्दाहरुको स्वास्थ्य चेक जाँच र औषधी उपचारमा सहयोग पु¥याउने उद्देश्यले शिबिर सञ्चालन गरिएको नेपाली सेनाको बज्रदल गण नेपालगन्जका गणपति श्याम आत्रय पौडेलले बताए ।

शिबिरमा परामर्श र उपचारमा आएका अधिकांस ब्यक्तिहरुमा छालाजन्य रोगहरु देखिएको छ । त्यसैगरी ज्वरो, रुघाखोकी, दमका साथै स्त्री रोग सम्बन्धी रोगका समस्या भएका ४ सय ३४ जना महिला सहित ६ सय ४१ जना बिरामीहरु उपचारका लागि शिबिरमा पुगेका थिए ।

शिबिरमा आएका स्वास्थ्य सम्बन्धी जटिल समस्या भएका करिब ४०/५० बिरामीहरुलाई चिकित्सकहरुले थप उपचारका लागि जिल्ला अस्पताल गुलरिया र भेरी अस्पताल नेपालगन्जमा रिफर गरेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

राजापुर नगरपालिका, जिल्ला अस्पताल बर्दियासंग सहकार्य गरेर नेपाली सेनाले सञ्चालन गरेको शिबिरमा स्त्री रोग, जनरल फिजिशियन, छाला तथा यौन रोग बिशेषज्ञ सहित ७ जना चिकित्सक र एक दर्जन भन्दा बढी स्वास्थ्यकर्मीहरुले बिरामीहरुको उपचार र स्वास्थ्य पराशर्म दिएका थिए ।

स्वास्थ्य शिबिरमा बिरामीहरुमा देखिएको स्वास्थ्य समस्या पत्ता लगाउन रगत परीक्षण, एक्सरे, अल्ट्रासाउण्ड लगायतका चेक जाँचको सुबिधा सहित बिरामीहरुलाई आवश्यक पर्ने औषधीहरु निःशुल्क वितरण गरिएको थियो ।

लगातार दुई वर्षसम्म आएको बाढी र डुबानका कारण खेतीबालीमा क्षति हुँदा त्यस क्षेत्रका स्थानीय बासिन्दाहरु आर्थिक मात्रै नभएर मानसिक तनाबमा छन् । बाढी डुबानका कारण आर्थिक समस्या परेका कारण उपचारका लागि अस्पताल जान सक्ने अवस्थामा नभएका स्थानीय बासिन्दाहरु स्वास्थ्य शिबिरबाट लाभाबिन्त भएका हुन् ।

नेपाली सेनाले स्वास्थ शिबिर सञ्चालन गरेर बाढी डुबानका कारण समस्यामा परेका स्थानीय बासिन्दाहरुको पीडामा केहि हदसम्म भए पनि मलमपट्टी लगाउने काम गरेको राजापुरका पत्रकार ऋषि वाग्ले ‘गोपाल’ले बताए ।