बढ्दै माघे संक्रान्तिको रौनक


बढ्दै माघे संक्रान्तिको रौनक

नेपालगन्ज : माघेसंक्रान्ति नजिकिएसँगै बाँके जिल्लाका आदिवासी थारु जाति र मगर बस्तीमा चहलपहल
बढेको छ ।  पर्वको तयारीमा अन्य जातजाति पनि लागे पछि यसलाई मुख्य पर्व नै मान्ने तराईका आदिवासी थारु र मगर बस्तीमा माघसंक्रान्ति पर्वको रौनक छाएको हो ।


थारुले ‘माघी’ भन्ने यस पर्वका लागि माछाको सिद्रा, खसी, हाँस, कुखुरासहितका मासु परिकारको जोहो गरेका छन् । पर्वका लागि छोरीचेली, ज्वाइँचेला र भाञ्जाभाञ्जी डाकिएका छन् । त्यसैगरी जिल्लाको विभिन्न स्थानमा बसोबास गर्ने मगरले पनि थारुजस्तै पर्वको जोहो गर्दै आफन्तलाई डाकेका छन् ।  पर्व नजिकिँदै गर्दा थारु र मगर बस्तीमा टाढाटाढा काममा गएकाहरु घर आउने क्रम जारी छ । थारु र मगरबाहेक हिन्दू परम्परा मान्ने अन्य जातजाति पनि यहाँ तिलासक्रायत भनिने माघेसंक्रान्ति पर्वको तयारीमा जुटेका छन् ।


पर्व मुखमै आइपुग्दा जिल्लाका बजारमा पर्व विशेषका सामग्रीको बजार जमेको छ । बाँकेसहित यस क्षेत्रमा महत्वका साथ मानिने यो पर्वमा तील, सख्खर, चिउरा र मुरीको बजार जमेको छ । पर्वमा तील, चिउरा र मुरीका लाई बनाएर कूलदेवतालाई चढाइ इष्टजनसँगै खाने, खुवाउने मैथिल परम्परा छ । खास पर्वले चिउरा र मुरीको मूल्यमा खासै फरक नआए पनि तील र सख्खरको मूल्य भने आकासिएको छ । यसअघि प्रतिकिलो एक सय ५० देखि दुई सयसम्म पाइने तील अहिले जिल्लाका बजारमा तीन सय ५० सम्म र सख्खर प्रतिकिलो एक सयसम्म पुगेको बजारु उपभोक्ता बताउँछन् ।