बाँके(नौवस्ता) १३ कार्तिक : बाँके क्षेत्र नम्बर–३ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार किशोरसिंह राठौरले नौवस्ता औद्योगिक क्षेत्रका कारण कोही पनि बिस्थापित नहुने बताएका छन् ।
आफु निर्वाचित भएपछि पाँच वर्ष भित्रमा नौवस्ता औद्योगिक क्षेत्रको अव्यवस्थित बसोबास ब्यवस्थापन गरिने प्रतिवद्धता जनाए ।
बाँके क्षेत्र नम्बर–३ अन्तरगत प्रदेश सभा–३ ‘क’ को बैजनाथ गाउँपालिका वडा नम्बर –३ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसका केन्द्रिय सह–महामन्त्री समेत रहेका उम्मेदवार राठौरले औद्योगिक क्षेत्र व्यवस्थापन गर्ने नाममा बस्तीलाई उठिबास गर्न नपाइने बताए ।
‘बस्तीको उठिबास गर्न खोज्दा हाम्रो पार्टी नेतृत्वको सरकारले रोकेको हो,’ उनले भने । नेपाली काँग्रेस सहितको गठबन्धनलाई जिताएपछि मात्र भुमिहिन तथा सुकुम्बासीका समस्या समाधान हुने उनको धारणा छ ।
नेपाली काँग्रेस सहितको गठबन्धनलाई यसपटक विश्वास गर्न उम्मेदवार राठौरले आग्रह गरेका थिए । नेपाली काँग्रेस बैजनाथ गाउँपालिका वडा नम्बर–३ की वडा सभापति भुमिसरा रानाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उपस्थित स्थानीय बासिन्दाले बिगतका संसदिय निर्वाचनमा उम्मेदवारले आफुहरुसँग गरेको वाचा पुरा नगरेको गुनासो गरेका थिए ।
सो क्रममा बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीले स्थानीय सरकारको सिफारिस बिना औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले काम अगाडी बढाउनै नसक्ने बताए । बस्ती व्यवस्थापन नगर्दासम्म औद्योगिक क्षेत्र बिस्तार गर्न र बस्ती उठाउन बैजनाथ गाउँपालिकाले नदिने उनले प्रष्टयाए ।
‘तपाईंहरु ढुक्क रहनुस, यसमा तपाईंहरुले कुनै चिन्ता लिनुपर्ने अवस्था छैन,’ अध्यक्ष शाहीले भने । स्थानीय सरकारको नेतृत्व आफुले गरेको उल्लेख गर्दौ प्रदेश सभा र प्रतिनिधी सभामा पनि नेपाली काँग्रेस सहितको गठबन्धनलाई जिताएपछि विकास गर्न सहज हुने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा–३ ‘क’ का उम्मेदवार एवम पुर्ब मन्त्री दलबहादुर सुनारले एमाले रहँदा जनताको काम गर्न नपाएपछि पार्टी छाडेको बताएका थिए । आफुलाई निर्वाचित गराएपछि अब जनताको काम इमान्दारीपुर्बक गर्ने प्रतिवद्धता जनाए ।
उक्त कार्यक्रममा प्रतिनिधी सभामा समानुपातिक उम्मेदवार आशा बिक, प्रदेश सभाका समानुपातिक उम्मेदवार बिनोद थारु, महासमिति सदस्य मेघराज ओली, क्षेत्रीय सचिव ज्ञानबहादुर ओली, माओवादी केन्द्र बाँकेका संयोजक तथा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक, बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, काँग्रेस प्रदेश सभा–३ ‘क’ का सभापति केशवकुमार शाह, माओवादी केन्द्रका नेता राजकुमार बिक, काँग्रेसका बैजनाथ गाउँपालिका सभापति देवबहादुर केसी, वडाअध्यक्ष निखिल बैगार, नेता देवबहादुर खत्री, भावना चौधरी, जिल्ला सदस्य टंकप्रसाद काफ्ले आशिष, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, दलित संघ बाँकेका अध्यक्ष कृष्ण बिक, काँग्रेसका युवा नेता टिकाराम उपाध्याय, शरद रेग्मी लगायत गठबन्धनमा आवद्ध दलका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
थप समाचार
गठबन्धनलाई जिताएर विकासको अभियानमा मलाई साथ दिनुस्ः सह–महामन्त्री राठौर