मञ्जुलको ‘कामी’ माथि नेपालगन्जमा विमर्श


मञ्जुलको ‘कामी’ माथि नेपालगन्जमा विमर्श

नेपालगन्ज १९ कार्तिक : कवि मञ्जुल मितेरीको कविता संग्रह ‘कामी’ माथि नेपालगन्जमा विमर्श गरिएको छ । मध्यपश्चिम स्रष्टा समाजले आयोजना गरेको कार्यक्रम ‘विमर्श बिन्दु’मा मञ्जुलको उक्त कविता कृतिमाथि विमर्श भएको हो ।

नेपालगन्जका साहित्यकार तथा बौद्धिक व्यक्तित्वहरुको भेलाबीच भएको विमर्श कार्यक्रममा साहित्यकार भोजराज शर्मा ‘नादिर’ले कविता कृतिमाथि आफ्नो टिप्पणी प्रस्तुत गरेका थिए ।

कवित संग्रहमाथि टिप्पणीका क्रममा नादिरले ‘कामी’ कविता संग्रह कलाकारितामा व्यस्त हुँदाहुँदै लेखिएका कविताहरुको संग्रह भएको बताउँदै मञ्जुलको साँेचको उचाई र कवितामा व्यक्त यथार्थता तारिफयोग्य रहेको बताए । जापानमा ६० फिट उचाईको बुद्धको मुर्ति निर्माण गरेर नेपाल फर्किएका मितेरीलाई उनले बुद्धको दर्शननजिक रहेको झेन कविता लेखनतर्फ अघि बढ्न आग्रह गरे ।

कार्यक्रममा आफ्ना विचार व्यक्त गर्दै कथाकार सनत रेग्मीले पछिल्लो समय पछाडि पारिएका वर्गका आवाजहरु कवितामा सशक्तरुपमा आइरहेको बताए । मञ्जुलका कवितामा पनि एक दलित युवाले भोगेका अनूभुतिहरु इमानदारीपूर्वक कविले लेखेको आफूले पाएको बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

लेखक नरेन्द्रजंग पिटरले मनुस्मृतिलाई अहिलेपनि पालना गर्ने वर्गलाई व्यंग्य गर्दै मितेरीलाई भने, ‘मञ्जुल मितेरी तिम्रो जिब्रो काटिनुपर्छ । तिम्रा कानमा सिसा हाल्नुपर्छ ।’ पिटरले एक दलित युवाले परदेशमा गएर बुद्धको विश्वकै अग्लो शालिक बनाइरहेको र विद्रोह ओकल्ने कविता लेखिरहेको भन्दै मुक्तकण्ठले प्रशंसा गरे ।

कार्यक्रममा बोल्ने वक्ताहरु कविता संग्रहको नाम ‘कामी’ र त्यसले दिने जातीय विभेदविरुद्धको आवाजमा बढी केन्द्रित भएर आफ्ना धारणाहरु राखेका थिए । कार्यक्रममा किरण आचार्य, विक्रम शिशिर, कपिल अञ्जान, पर्वत ढकाल, कल्पना खेरल, चरित्रा शाह, खकेन्द्र न्यौपाने, जयकेश सिंह, विष्णुलाल कुम्हाल, बालकृष्ण शर्मालगायतले पनि बोलेका थिए ।

मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष शुक्रऋषि चौलागाईंले ‘विमर्श बिन्दु’ मा श्रृंखलाबद्धरुपमा पुस्तक, व्यक्तित्व तथा विभिन्न विषयवस्तुहरुमाथि विमर्श गरिने जानकारी दिएका छन् ।