नेपालगन्ज २२ कार्तिक : निर्वाचन आचारसंहिता लागु भएका बेला आचारसंहिता उल्लंघन गरि मतदातालाई चामल बाँडेको आरोपमा नेपालगन्जका उपमहानगरपालिका वडा नम्बर–२० का वडाअध्यक्ष कौशलकुमार धोबीलाई स्पष्टीकरण सोधिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्तरगत रहेको आचारसंहिता अनुगमन समितिले वडाअध्यक्ष धोबीलाई स्पष्टीकरण सोधेको हो । उनी गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा जसपाबाट नेपालगन्ज वडा नम्बर–२० को वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।
निर्वाचन आचारसंहिता लागु भएको समयमा वडाअध्यक्ष धोवीले चामल बाँडेको उजुरी परेको थियो । उनले हस्ताक्षर गरी राँझाका ब्यापारी रामगोपाल बर्मा (प्रधान) लाई पठाएको कागजको टुक्रा केहीदिन अघि सामाजिक सञ्जालभरी भाईरल भएको थियो ।
वडाअध्यक्ष धोबीले चित्त बुझ्दो जवाफ नदिए थप कारबाहीका लागि निर्णय गरिने आचारसंहिता अनुगमन समितिका अनुगमन अधिकृत खडानन्द अधिकारीले बताए । ‘वडाअध्यक्ष कौशल धोवीले निर्वाचन आचारसंहिता लागु भएको बेला चामल वितरण गर्नु भएको छ, वडा कार्यालयबाट चामल वितरण गरेको कुरा स्वयंले पनि स्वीकार गर्नु भएकोे छ,’ उनले भने ‘वडाले निर्णय गरेर विपन्नलाई बाँड्ने निर्णय गरेको भएपनि अहिले त्यो गर्न मिल्दैन, जुन आचारसंहिता विपरित हो ।’
वडाअध्यक्ष धोवीले भने गत असोजमा परेको अविरल वर्षाका कारण बाढी पीडित परिवारलाई वडा कार्यालयले राहत दिने निर्णय गरेको दाबी गरेका छन् । बाढीका कारण पीडित बनेका जनतालाई नेपालगन्ज उपमहानगरपालिकाको विपत व्यवस्थापन समितिले राहत दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा आफुले चामल वितरण गरेको अध्यक्ष धोवीले बताए । नेपालगन्ज–२० का ३ सय जनाले राहतका लागि फारम भरेकोमा ९० जना जतिले राहत लिइसकेको उनले जानकारी दिए ।
थप समाचार
इस्तियाकलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण
उम्मेदवारलाई गालीगलौच गर्ने रुबी खानको एनजिओमाथी कारबाही तयारी