नेपालगन्ज २५ कार्तिक : नेपालगन्जका बहुचर्चित वरीष्ठ प्लाष्टिक सर्जन डाक्टर विनोद कर्णले प्रदेश सभा निर्वाचनका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेकाछन् । बाँके क्षेत्र नम्बर–२ (२) बाट प्रदेश सभाका उम्मेदवार डाक्टर कर्णले शुक्रबार एक कार्यक्रमकाबीच आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
अभियन्ताका रुपमा समेत परिचित डाक्टर कर्णले देशको नाममा रहेको नेपालगन्ज शहरबाट उम्मेदवारी दिनुनै गर्वको विषय भएको बताए ।
निर्वाचनको परिणाम जस्तोसुकै आएपनि आम मतदातालाई झुठा आस्वासन र प्रतिबद्धता नबाँडेको उनको दावि छ । पश्चिम नेपालमै समृद्धीका लागि प्रचुर सम्भावना रहेको नेपालगन्जबाट निर्वाचित हुनेहरुले यहाँको मूल मर्म अनुसार काम गर्न नसकेको भन्दै उनले नेपालगन्जलाई थप पीडा दिएको दावि गरे ।
नेपालगन्जले सानो सानो कुरामा सुधार खोजेको छ । नाकी विकास र समृद्धिका नाममा जनताको आँखामा छारो हाल्ने काम । यहाँको सानो सनो कुरामा सुधार गरे नेपालगन्ज समृद्धको बाटोमा लाग्ने उनले बताए ।
‘बालमन्दिरदेखि मास्टरसम्मको पढाईमा म कहिल्यै दोस्रो भएन । यस्तो ब्यक्ति निर्वाचित भयो र नेपालगन्ज बनाउने अभिारा पाए कसरी दोस्रो होला ?’ उनले प्रतिप्रश्न राखे । डाक्टर कर्णले परिर्वतनका लागि पात्र बदलिनुपर्ने भन्दै यसका लागि नेपालगन्जका मतदाता बदलिएर पात्रलाई पनि बदलिने अभिभारा आएको बताए ।
नेपालगन्जको विकास निर्माण, स्वास्थ्य र शिक्षामा विशेष जोड दिएको उनको प्रतिबद्धतामा सर्वसुलभ तथा परिमार्जित स्वास्थ्य, सुशासन तथा भ्रष्टाचार निवारण, युवा लक्षित रोजगारी, गुणस्तरीय तथा परिमार्जित शिक्षा, नशामुक्त बाँके, सरसफाई तथा वातावरण, पर्यटन तथा संस्कृति, किसानमुखी कृषि, स्वास्थ्यका लागि खेलकुद र पूर्वधार तथा दीगो विकास लगायतका मुद्दामा उनले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेकाछन् ।
क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्जका अभियन्ता समेत रहेका उनको अग्रसरतामा उपमहानगर क्षेत्रमा फोहोरमैला ब्यवस्थापन, सरसफाई सम्बन्धी कार्यक्रम सञ्चालन भएकाछन् ।
चिकित्सक संघ भेरीका निर्वतमान अध्यक्ष समेत रहेका डाक्टर कर्ण नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत छन् । उनी वरिष्ठ प्लाष्टिक सर्जन हुन् ।
यसअघि २०७४ सालको निर्वाचनमा उनी सोही क्षेत्रबाट विवेकशील साझाको तर्फबाट चुनाव लडेका थिए । त्यतिबेला नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका सुरेन्द्र हमाल निर्वाचित भएका थिए ।
जनताको एजेण्डालाई बोकेर अघि बढेको बताउँदै डाक्टर कर्णले यसपटक जनताको साथ र सहयोग भरपुर पाएको सुनाए ।
‘चिकित्सक भएकै कारण राजनीति गर्नु हुँदैन भन्ने छैन, हामीमाझ थुप्रै चिकित्सक राजनीति गरेर सफल भएका उदहारण छन्’ आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै डाक्टर कर्णले भने–‘म उम्मेदवारी घोषणाअघि देखि नै जनताको घरदैलोमा पुगेर तयारी गरिरहेको मान्छे हो । यसपटक मलाई जनताको राम्रो साथ छ ।’
‘स्वतन्त्र उम्मेदवार र सांगठनिक उम्मेदवारबीच त फरक भइहाल्छ तर मैले नेपालगन्जको स्पष्ट एजेण्डा बोकेको छु, यसपटक जनताले मलाई सफल बनाउँछन्’ उनले भने -‘म नेपालगन्ज सहर सुन्दर भएको देख्न चाहान्छु, नेपालगन्ज मेरो मुटुसँग जोडिएको शब्द हो,’ उनले भने ‘म मर्नुभन्दा पहिला नेपालगन्ज शहर सुन्दर भएको देख्ने मेरो रहर हो, जसका लागि मैले गर्नुपर्ने प्रयास हरसम्मत हुनेछ ।’
आफूले निर्वाचनमा जितेसंगै समग्र नेपालगन्जको विकास, समस्या समाधान र जनचाहाना अनुरुप कार्य गर्ने भन्दै बाँके क्षेत्र नम्बर–२ ‘२’बाट प्रदेश सभा सदस्यको स्वतन्त्र उम्मेदवार डाक्टर विनोद कर्णलाई जिताउन आग्रह गरे । प्रतिबद्धता सार्वजनिक गर्ने क्रममा महेन्द्र माविका पूर्व शिक्षक अरुणलाल श्रेष्ठ, डाक्टर प्रकाश नाग र क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्जका अभियन्ता मेनुका शाहीले युवा उम्मेदवार डाक्टर कर्णलाई जिताउन आग्रह गरेका थिए ।
थप समाचार