नेपालगन्ज ६ भदौ : नेपालगन्जका बहुचर्चित वरीष्ठ प्लाष्टिक सर्जन डाक्टर विनोद कर्णले प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेकाछन् ।
अभियन्ताका रुपमा समेत परिचित डाक्टर कर्णले बाँके प्रदेश सभा २ ‘ख’ बाट चुनाव लड्ने उद्घोष गरेका हुन् ।
आगामी मंसिर ४ गते हुन लागेको प्रदेश सभाको निर्वाचनका लागि स्वतन्त्र तर्फबाट उनी लड्ने भन्दै नेपालगन्जमा सोमबार आयोजित पत्रकार सम्मेलन गरि औपचारिक रुपमा चुनाव लड्ने घोषणा गरे ।
चुनाव लड्ने घोषणा गरेपनि आफ्ना प्रतिवद्धता पत्र जनतामाझ बिस्तारै लैजाने उनले बताए । नेपालगन्जको विकास निर्माण, स्वास्थ्य र शिक्षामा विशेष जोड दिइने डाक्टर कर्णले सुनाए ।
क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्जका अभियन्ता समेत रहेका उनको अग्रसरतामा उपमहानगर क्षेत्रमा फोहोरमैला ब्यवस्थापन, सरसफाई सम्बन्धी कार्यक्रम सञ्चालन गरिन्छ ।
चिकित्सक संघ भेरीका निर्वतमान अध्यक्ष समेत रहेका डाक्टर कर्ण नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत छन् । उनी वरिष्ठ प्लाष्टिक सर्जन हुन् ।
यसअघि २०७४ सालको निर्वाचनमा उनी सोही क्षेत्रबाट विवेकशील साझाको तर्फबाट चुनाव लडेका थिए । त्यतिबेला नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका सुरेन्द्र हमाल निर्वाचित भएका थिए ।
जनताको एजेण्डालाई बोकेर अघि बढेको बताउँदै डाक्टर कर्णले यसपटक जनताको साथ र सहयोग भरपुर पाएको सुनाए ।
‘चिकित्सक भएकै कारण राजनीति गर्नु हुँदैन भन्ने छैन, हामीमाझ थुप्रै चिकित्सक राजनीति गरेर सफल भएका उदहारण छन्’ आफ्नो उम्मेदवारीका बारेमा जानकारी दिदैँ डाक्टर कर्णले भने–‘म उम्मेदवारी घोषणाअघि देखि नै जनताको घरदैलोमा पुगेर तयारी गरिरहेको मान्छे हो । यसपटक मलाई जनताको राम्रो साथ छ ।’
‘स्वतन्त्र उम्मेदवार र सांगठनिक उम्मेदवारबीच त फरक भइहाल्छ तर मैले नेपालगन्जको स्पष्ट एजेण्डा बोकेको छु, यसपटक जनताले मलाई सफल बनाउँछन् ।’ उनले भने ।
आफूले निर्वाचनमा जितेसंगै समग्र नेपालगन्जको विकास, समस्या समाधान र जनचाहाना अनुरुप कार्य गर्ने भन्दै क्षेत्र नम्बर २ ‘ख’बाट प्रदेश सभा सदस्यको स्वतन्त्र उम्मेदवार डाक्टर विनोद कर्णलाई जिताउन आग्रह गरे ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोकिएसंगै यतिबेला आकांक्षीहरुले आफ्नो उम्मेदवारी धमाधम घोषणा गरिरहेकाछन् । यसअघि बाँके क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यमा दिवाकर खनाल र क्षेत्र नम्बर–२ ‘क’ बाट प्रदेश सभा सदस्यमा राजकुमार रौनियारले आफ्नो उम्मेदवारी घोषणा गरिसकेकाछन् । खनाल र रौनियार शिव सेनाका नेताका रुपमा चिनिन्छन् ।
थप समाचार
आठ वटा गोली खाएर बाँचेका दिवाकर हिन्दू राष्ट्र निर्माणका लागि लड्दै
बाँकेमा बढ्यो चुनावी सरगर्मी, टिकटका लागि ‘गठबन्धन बाधक’
बाँके क्षेत्र नम्बर– २ मा काँग्रेस बलियो
‘पदका लागि दल बदल्ने’ विजय : काँग्रेस, जसपा हुँदै एमालेमा प्रवेश