एक्सनमा उत्रियो कोहलपुर नगर प्रहरी

कोहलपुर क्षेत्रका अनधिकृत होर्डिङ र फल्यास बोर्ड हटाइयो

सडक पेटी खाली गराउन थालियो


कोहलपुर क्षेत्रका अनधिकृत होर्डिङ र फल्यास बोर्ड हटाइयो

नेपालगन्ज ११ मंसिर : कोहलपुर नगरपालिका क्षेत्रभित्र अनाधिकृत रुपमा राखिएका होडिङ र फल्याक्स बोर्ड हटाइएको छ । नगरपालिकाले नगर प्रहरी प्रयोग गरेर कोहलपुर क्षेत्रका ८७२ वटा अनधिकृत होडिङ र फल्यास बोर्ड हटाएको हो ।

नगर क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग र रत्न राजमार्गको छेउछाउमा राखिएका त्यस्ता अनधिकृत र मापदण्ड विपरीतका होर्डिङ तथा फल्यास बोर्डहरु हटाइएको कोहलपुर नगरपालिकाले जनाएकोछ ।

विज्ञापन प्रयोजनका लागि नगरपालिकाको स्वीकृतबिना राखिएका विभिन्न संघसंस्थाका २२० वटा होर्डिङ र ६५२ वटा फल्यास बोर्डहरु हटाइएको कोहलपुर नगरप्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए । उनले केहीलाई जरिवाना समेत गरिएको नगर प्रहरी प्रमुख थापाले बताए ।

‘कोहलपुर नगर क्षेत्रभित्रका अनधिकृत तथा मापदण्ड विपरीतका सबै होडिङ तथा फल्यास बोर्डहरु हटाइएको छ’ थापाले भने–‘अनधिकृतरुपमा होडिङ बोर्ड राख्नेलाई कारबाहीको दायरामा समेत ल्याएका छौं ।’

Kanti Aarogya Hospital Nepalgunj

उनका अनुसार अहिलेसम्म २० हजार ५ सय रुपैयाँ जरिवाना असुल गरिएको छ । नगर प्रहरीको नियन्त्रणमा रहेका ती बोर्डहरु जरिवाना गरेर सम्बन्धित निकायलाई बुझाउने काम समेत भइरहेको पनि थापाले बताए ।

अहिलेसम्म ४१ वटा बोर्ड सम्बन्धित धनीले जरिवाना तिरेर लगिसकेका छन् । नगरपालिकाको नियन्त्रणमा रहेका होर्डिङ र फल्यास बोर्डहरु जरिवाना तिरेर लैजान ७ दिने सूचना समेत जारी रेको छ । समअवधिभित्र लिन नआएको खण्डमा नगरपालिकाले कानून अनुसार लिलामी प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।

सडक पेटी खाली गराउन थालियो

यसैबीच, कोहलपुर नगरपालिकाभित्रका सडक पेटी खाली गराउन थालिएको छ । ट्रस्ट तानेर सडक पेटी कब्जा गर्ने, पसल तथा ठेलाहरु राख्ने गरेको पाइएपछि नगरप्रहरीले त्यसलाई हटाउन सुरु गरेको हो ।

मानिसहरुलाई हिडँडुलमै समस्या पर्नेगरी सडक पेटीहरु कब्जा गरिएपछि नगरपालिकाले यसअघि सात दिने सूचना जारी गरेर खाली गराउन अनुरोध गरेको थियो । सोहीअनुसार बसपार्क क्षेत्रबाट यो अभियान सुरु गरिएको नगर प्रहरी प्रमुख थापाले बताए ।

कोहलपुर नगरपालिकालाई व्यवस्थित बनाउने अभियान अन्तर्गत नगर प्रहरीले कब्जा गरिएका सडक पेटी पनि खाली गराउन थालेको हो ।

नगरपालिकाबाट खटिएका अमिनहरुले नगरक्षेत्र भित्रको सडक पेटीलाई मार्किङ गरिसकेका छन् । कतिपय व्यवसायीहरुले स्वःस्र्फतरुपमा पनि सडक पेटी खाली गरिसकेका छन् ।

यसअघि नगरक्षेत्र भित्रको फुटपाथ कब्जा गरि बसेका ठेलाहरुलाई नगर प्रहरीले हटाइसकेको छ । फुटपाथ खाली गराउने अभियानलाई अटेर गर्ने ५४ ठेला व्यवसायीलाई कारवाहीको दायरामा समेत ल्याउने काम भएको नगर प्रहरी प्रमुख थापाले बताए । उनले त्यसबाट १६ हजार राजश्व संकलन भएको पनि बताए ।

यसैगरी नगरप्रहरीले रत्नराजमार्ग अन्तर्गत कोहलपुर चौराहदेखि सुर्खेतरोड सडक खण्डको वडा नम्बर–२ सम्मको सार्वजनिक जग्गामा अतिक्रमण गरेर बसेका टहर तथा पसलहरु पनि खाली गराएको छ ।

सडकको मापदण्ड अनुसार राजमार्गको क्षेत्राधिकार भित्र थापेका करिव ६० वटा घुम्ति पसल, टहर तथा ठेला व्यवसायीहरुलाई हटाइएको हो । अब तत्काल चौराहदेखि नेपालगन्ज सडकखण्ड अन्तर्गत पार्वतीपुरसम्मको सडक अतिक्रमण समेत हटाउने तयारी सुरु गरिएको नगर प्रहरी प्रमुख थापाले बताए ।

थप समाचार

कोहलपुरमा अव्यवस्थित तारहरुको व्यवस्थापन सुरु