नेपालगन्जमा ‘नमुना’ स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालन

फोहरमैला व्यवस्थापनमा एक कदम अगाडी बढेका छौंः विष्ट


नेपालगन्जमा ‘नमुना’ स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालन

नेपालगन्ज १२ मंसिर : नेपालगन्जमा एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ ।

जिआइजेडको सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाले सोमबारदेखि एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको हो । केन्द्रको सोमबार एक कार्यक्रमका बीच नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरे ।

एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख विष्टले अन्य फोहरको तुलनामा स्वास्थ्यजन्य फोहर सबैभन्दा बढी दुषित र संक्रामक हुने भएकाले आफूहरु निर्वाचित भइसकेपछि यसको व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राख्दै तदारुकताका साथ काम गरेर सञ्चालनमा ल्याइएको बताए ।

नगर प्रमुख विष्टले नेपालगन्ज उपमहानगरपालिका कार्यपालिकाको सिंगो टिम नेपालकै नमुनाको रुपमा स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालन गर्न सफल भएको बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

उनले फोहरमैला व्यवस्थापनको काममा नेपालगन्ज उपमहानगरपालिका एक कदम अगाडि बढेको बताए । फोहरमैला व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेको उल्लेख गर्दै नगर प्रमुख विष्टले सबै सरोकारवालासँग समन्वय गरेर फोहरमैला व्यवस्थापनमा अब ठोस निर्णय गरेर अगाडि बढ्ने बताए ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर –३ हिरमिनियास्थित ल्याण्डफिल साइट परिसरमा अस्पतालबाट निस्कने फोहरमैला व्यवस्थापन गर्ने उद्देश्यका साथ एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको वातावरण इन्जिनियर प्रकाश डिसीले जानकारी दिए ।

फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनका लागि जिआइजेडले २ वटा अटो क्लेब मेसिन र एउटा बेलर मेसिन सहयोग गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाले संरचना निर्माण गरेको हो । संरचना निर्माणमा ४६ लाख लागत लागेको डिसीले जानकारी दिए । स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनको जिम्मा १० बर्षका लागि स्वच्छ नेपाल हाम्रो अभियान नामक संस्थालाई दिइएको छ ।

स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि अस्पतालबाट निस्कने फोहरमैला व्यवस्थापनको टाउको दुःखाई अन्त्य भएको छ । नेपालगन्जका अस्पतालबाट निस्कने स्वास्थ्यजन्य फोहर अब यहीँ व्यवस्थापन हुनेछ । नेपालगन्जलाई स्वास्थ्य हबको रुपमा विकास गर्ने लक्ष्य लिइएकोमा यसको सञ्चालनले थप टेवा पुग्ने विश्वास लिइएको छ ।

एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र उद्घाटन कार्यक्रममा नगर प्रमुख विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, प्रबक्ता प्रमोद रिजाल, विभिन्न वडाका वडा अध्यक्षहरु, स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द लगायत उपस्थित थिए ।