अध्यागमन कार्यालय सुनसान : २०७७ वैशाखयता विदेशी पर्यटकको आवागमन र प्रस्थान ठप्प


अध्यागमन कार्यालय सुनसान : २०७७ वैशाखयता विदेशी पर्यटकको आवागमन र प्रस्थान ठप्प

File Photo

नेपालगन्ज १९ मंसिर : भारततर्फको अध्यागमन कार्यालय बन्द भएपछि जमुनाहस्थित नेपालको अध्यागमन कार्यालय सुनसान बन्न पुगेको छ ।

भारतीय अध्यागमन कार्यालय बन्द भएपछि कार्यालयबाट हुने गरेको प्रस्थान तथा आगमन अनुमति दिने काम ठप्प भएको अध्यागमन कार्यालय नेपालगन्जका निमित्त प्रमुख कृष्णा रानाले बताइन् ।

‘कोभिड–१९ महामारीसँगै बन्द भएको भारतीय अध्यागमन कार्यालय अहिलेसम्म खुलेको छैन,’ रानाले भनिन्, ‘भारतीय अध्यागमन कार्यालय नखुल्दा यताबाट आगमन तथा प्रस्थान अनुमति दिने काम हुन सकेको छैन ।’
तीन वर्षदेखि नेपालगन्ज नाकाबाट औपचारिक रूपमा विदेशी पर्यटक आवागमन ठप्प भएको निमित्त कार्यालय प्रमुख रानाले बताइन् ।

विगतमा नेपालगन्ज नाकाबाट वार्षिक दुई सय ५० देखि तीन सय विदेशी पर्यटक पैदलमार्ग हुँदै नेपाल भित्रिने गरेकोमा २०७७ वैशाखयता विदेशी पर्यटकको आवागमन र प्रस्थान ठप्प भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

भारततर्फ रुपैडिहास्थित अध्यागमन कार्यालय बन्द भएपछि नेपालगन्जस्थित अध्यागमन कार्यालयको काम पर्यटकलाई सूचना दिने भएको छ । आवागमन र प्रस्थान अनुमतिका लागि यहाँ आउने विदेशी पर्यटकलाई अहिले रुपन्देहीको बेलहिया अध्यागमन कार्यालय पठाउने गरेको कार्यालय प्रमुख रानाले बताइन् । नेपालगन्जस्थित अध्यागमन कार्यालय कामविहीन हुँदा बाँके बर्दियाको पर्यटन क्षेत्रसमेत प्रभावित भएको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट (नाटा) बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताए ।

नेपालगन्ज नाका हुँदै नेपाल आउन खोज्ने विदेशी पर्यटकले अहिले भैरहवा वा महेन्द्रनगर नाका पुगेर आउनुपर्ने भएकाले कतिपयले यात्रा स्थगन गर्ने गरेको उनको भनाइ छ ।

सीमावर्ती भारतीय बजार रुपैडिहामा रहेको अध्यागमन कार्यालय सञ्चालन गर्न अध्यागमन विभाग, गृह मन्त्रालयलगायत सरोकारवाला निकायबाट आफूहरूले पहल गरेको अध्यक्ष सिग्देलले बताए ।

भारत र तेस्रो मुलुकबाट जमुनाह नाका हुँदै नेपालगन्ज आउने पर्यटकको संख्या ठूलो भए पनि भारतीय अध्यागमन कार्यालय बन्द हुँदा त्यसको असर बाँके र बर्दिया जिल्लाको पर्यटन क्षेत्रमा परेको पर्यटन प्रवद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको भनाइ छ ।