प्रदूषण जाँच पास नभए एक लाखसम्म जरिवाना


प्रदूषण जाँच पास नभए एक लाखसम्म जरिवाना

नेपालगन्ज २२ मंसिरः आगामी पुष १ गतेदेखि सरकारले सवारी प्रदूषण परीक्षणलाई कडा बनाउने भएको छ । वन तथा वातावरण मन्त्रालयको वातावरण विभागले सार्वजनिक सूचना जारी गर्दै प्रदूषण जाँच पास नभएका सवारीसाधन चलाएको भेटिए एक लाख रुपैयाँसम्म जरिवाना हुने बताएको छ ।

विभागले बिहीबार एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारुपमा जलाउने फोहर रहेको भन्दै प्रदूषण जाँच गरेर मात्र सवारी साधन चलाउन आग्रह गरेको हो ।

अबका दिनमा विभागले गाडीको धुवाँ निस्कासनको अवस्थाबारे परीक्षणलाई प्रभावकारी बनाउनेसमेत विभागले जनाएको छ ।

हिउँदको मौसममा काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँहरुमा वायु प्रदूषणको अवस्था बिग्रँदै गएको र मुख्य कारकहरुमध्ये सवारी साधनबाट निस्कने धुवाँ र खुल्ला रुपमा फोहोर जलाउदा निस्कने धुवाँ भएको विभागको ठहर छ ।

Kids Festival 2022
kanti aarogya hospital

पछिल्लो समय धुवाँ परीक्षण गर्दा मापदण्डभन्दा धेरै प्रदूषण गराइरहेका गाडी फेला परेका छन् । एक पटकको लागि मर्मत गरी अवस्था दुरुस्त राख्न दिने गरेकोमा अब पुस १ गतेदेखि विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने गाडीलाई रु एक लाखसम्म जरिवाना गर्ने विभागले चेतावनी दिएको हो ।

कैफियत भेटिएमा वातावरण संरक्षण ऐन–२०७६ को दफा ४१ उपदफा २ अनुसार जरिबाना हुने उक्त सूचनामा उल्लेख छ । छड्के जाँचमा प्रदूषण जाँचपासको रुपमा हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँच अनुत्तीर्ण हुने गाडीलाई जरिवाना गरिने विभागले चेतावनी दिएको छ ।

साथै विभागले कसैले टोल छिमेकमा खुलारुपमा फोहर जलाउने तथा खुलारुपमा फोहर जलाएको पाइएमा गोप्यरुपमा जानकारी दिनसमेत आग्रह गरेको छ । यसरी खुलारुपमा फोहर जलाउनेलाई कारबाही गरिनेसमेत विभागले जनाएको छ ।