नेपालगन्ज २४ मंसिर : नमस्ते बचत तथा ऋण सहकारी संस्था लि. बाँकेले आफ्नो १३ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । मंसिर २२ गतेदेखि सुरु भएको इकाई स्तरीय सभा मंसिर २४ गते नेपालगन्जमा निर्णयार्थ पेश सहित समापन भएको हो ।
तीन दिनसम्म सञ्चालन भएको १३ औँ वार्षिक साधारण सभामा आ.व.०७८/०७९ को प्रगति तथा आ.व.०७९/०८० को वार्षिक नीति, कार्यक्रम र बजेटसँगै, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन समेत प्रस्तुत भएको थियो ।
आ.व.०७८/०७९ मा संस्थाको ९८ करोड ६७ लाख ३१ हजार ९४३ रुपैयाँ ४४ पैसा बराबरको सम्पत्ति रहेको संस्थाको शेयर पुँजी ५ करोड त्रियानव्बे लाख १३ हजार ९ सय रुपैयाँ, कर्जा लगानी ७८ करोड ८५ लाख ६९ हजार ८ सय ४७ रुपैयाँ, निक्षेप संकलन ५३ करोड २३ लाख १७ हजार २५ रुपैयाँ ३४, बाह्य कर्जा २८ करोड ४० लाख ५१ ७ सय पच्चिस रुपैयाँ ६७ पैसा रहेको संस्थाले ५१ लाख २० हजार आठ सय साठी रुपैयाँ छयानव्वे पैसा खुद नाफा आर्जन गरेको छ ।
संस्थाका अध्यक्ष बिष्णु बहादुर रिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् लुम्बिनी प्रदेश सहकारी संघ लिका अध्यक्ष प्रेम सुवेदीले सहकारी संस्थाहरु नीति, विधि र प्रविधिमा सञ्चालन हुनुपर्ने र सदस्य र संस्था एक ढिक्का भएमा सहकारी संस्था कहिले पनि समस्यामा नपर्ने बिचार व्यक्त गरे ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंक लिका सञ्चालक विजया धितालले सदस्यहरुले संस्थामा बचतका लागि भन्दा पनि कर्जा सेवाका लागि मात्र आबद्धता हुने गरेकोले यो समस्याको विषय हो भन्ने बारे औँल्याइन् ।
त्यसैगरी कार्यक्रममा बोल्दै जिल्ला बचत तथा ऋण सहकारी संघ लि बाँकेका सचिव प्रेम बहादुर शाहले सदस्यहरुले सहकारी संस्थामा सदस्यले नियमित मासिक बचत गर्नेतर्फ प्राथमिकता दिनुपर्ने र लगानीलाई व्यवसायिक क्षेत्रमा लगानी लगाई संस्थाबाट लिएको कर्जा समयमा तिर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नमस्ते साकोसका कानूनी सल्लाहकार रुद्रमणी न्यौपानेले संस्थाबाट कर्जा लिई तिर्न अटेर गर्ने सदस्यहरुलाई संस्थाले कानूनी प्रक्रियाबाट असुल उपर गर्नेतर्फ प्राथमिकता दिएकाले संस्थाबाट कर्जा लिई नर्तिने सदस्यहरुलाई समयमै कर्जा चुक्ता गर्न आग्रह समेत गरे ।
मंसिर २२ गते सेवा केन्द्र खजुरा र मंसिर २३ गते सेवा केन्द्र कोहलपुरमा इकाई स्तरीय साधारण सभा सम्पन्न भएको हो । २४ गते निर्णयार्थ पेश सहित बसेको साधारण सभाले बिष्णुबहादुर रिमालको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति तथा खुमबहादुर खत्रीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत निर्विरोध चयन गरेकोछ ।
सञ्चालक समितिको उपाध्यक्षमा जीवकला अधिकारी, सचिवमा प्रकाश ज्ञवाली, कोषाध्यक्षमा राजन शर्मा र सञ्चालक सदस्यमा बाबुलाल श्रेष्ठ, प्रकाश अधिकारी र तारा केसी निर्विरोध निर्वाचित भ एभने लेखा सुपरिवेक्षण समितिमा सदस्यहरु फणाधर भण्डारी र राधिका केसी निर्विरोध निर्वाचित भएकाछन् ।
सभाले संस्थाको व्यवसायिक क्रियाकलापमा उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई समेत सम्मान गरेको छ । सम्मान हुनेहरुमा खजुराबाट हरिओम सुनार, रुपा रावल, यानुमाया श्रेष्ठ, शारदा अधिकारी, रिमा कुमारी खत्री, लक्ष्मी कुमारी श्रेष्ठ, सुजस थापा कोहलपुरबाट सागर वाग्ले, जय लक्ष्मी बम्, गंगादत्त जैसी, मान बहादुर अर्याल, हरिप्रथा उपाध्याय, प्रियंशा विश्वकर्मा, मुनाल समूह त्यसै गरी नेपालगञ्जबाट प्रमोद श्रेष्ठ, समिर वली, विनोद कुमार वैश्य, शिव कुमार गुप्ता, बुद्धि बहादुर बडुवाल, विधि मेचे सम्मानित भए ।
सो कार्यक्रममा कर्मचारीहरुबाट सहायक अधिकृत देवबहादुर खत्री, उपसहायकहरु मनिषा रोकामगर, हेमा कुमारी न्यौपाने सम्मानित भए । कार्यक्रम सञ्चालन संस्थाका प्रबन्धक शालिक राम डाँगीले गरेका थिए ।