बाँकेको अगैयामा हिमालयन बैंकको काउण्टर


बाँकेको अगैयामा हिमालयन बैंकको काउण्टर

राप्तीसोनारी (बाँके) १ पुष : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर– २ अगैयामा हिमालयन बैंक लिमिटेडको विस्तारित काउण्टर खुलेको छ । राप्तीसोनारी वडा नम्बर– ८ शमशेरगञ्जमा रहेको हिमालयन बैंकको शाखाको काउण्टर शुक्रबार खुलेको हो ।

हिमालयन बैंकका लुम्बिनी प्रदेश प्रमुख अनुसुया बस्नेतको उपस्थितिमा गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले उक्त काउण्टरको उद्घाटन गरेका हुन् । कार्यक्रममा गाउँपालिका अध्यक्ष पौडेलले वडा नम्बर ६ र ७ का स्थानीयका लागि पनि हिमालयन बैंकले केही विकल्प खोज्नुपर्ने बताउँदै सो क्षेत्रमा पनि काउण्टर विस्तारका लागि अनुरोध गरे ।

‘हिमालयन बैंकले गाउँपालिकाको वडा नम्बर ६ र ७ का जनतालाई पनि सेवा प्रदान गर्नका लागि सो क्षेत्रमा काउण्टर विस्तार गर्न पनि अनुरोध गर्दछु,’ उनले भने, ‘यसमा पालिकाले गर्नुपर्ने जे सहयोग हुन्छ, त्यो सहयोग गर्न हामी पूर्णरुपले तत्पर छौं ।’

कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख बस्नेतले राप्तीसोनारी गाउँपालिकामा सहजरुपले सामाजिक सुरक्षा भत्ता वितरण गर्न र राजस्व संकलन गर्ने उद्देश्यले अगैयामा हिमालयन बैंकको काउण्टर खोलिएको बताइन् ।

Kanti Aarogya Hospital Nepalgunj

हिमालयन बैंकको शमशेरगञ्जमा रहेको शाखाबाट गाउँपालिकाको वडा नम्बर २, ८ र ९ का स्थानीयले मात्र सहजरुपमा सेवा लिन सकेका थिए भने अन्य वडाका स्थानीयका लागि अगैयामा नयाँ काउण्टर खोलिएको उनले बताइन् । वडा नम्बर ६ र ७ का स्थानीयका लागि पनि काउण्टर विस्तार गर्नका लागि पालिकाले सहयोग गरे आफूहरुले त्यसको पहल थाल्ने बस्नेतको भनाई थियो ।

अब अगैंया काउण्टरले सामाजिक सुरक्षा भत्ता र राजश्व मात्र नभएर सो क्षेत्रका जनताको लागि बचत र अन्य सुविधा पनि प्रदान गर्ने हिमालयन बैंक अगैया काउण्टरका कर्मचारी केशवराज खत्रीले जानकारी दिए । त्यसैगरी अगैया काउण्टर उद्घाटन समारोहमा हिमालयन बैंकले विद्यार्थीलाई विभिन्न किसिमका शैक्षिक सामग्री वितरण गरेको छ । अगैयामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत ६५ जना विद्यार्थीलाई ३० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री बैंकले वितरण गरेको हो ।

बैंकका कर्मचारी खत्रीका अनुसार बैंकले १ सय टि–सट, ३ सय ५० थान कपी र ५०० पिस कलम वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व वहन गर्दै वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत सो शैक्षिक सामग्री वितरण गरेको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु, प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्री, राप्तीसोनारी गाउँपालिका वडा नम्बर– ८ का वडाध्यक्ष सालिकराम डाँगी, वडा नम्बर– ९ का वडाध्यक्ष सोहनलाल थारु, राप्तीसोनारी उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम ढुंगाना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।