बाँकेमा ९९ प्रतिशत बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाए


बाँकेमा ९९ प्रतिशत बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाए

File Photo

नेपालगन्ज ४ पुष : टाइफाइड रोगको उच्च जोखिममा रहेको बाँके जिल्लामा १५ महिनादेखि १५ वर्ष उमेर समुहका ९९ प्रतिशत बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइएको छ ।

जिल्लामा चैत २३ गतेदेखि शुरु गरिएको टाइफाइडविरुद्धको खोप लगाउने अभियान अन्तर्गत हालसम्म ९९.३ प्रतिशत बालबालिकालाई सो खोप लगाइएको बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

जिल्लाका १५ महिनादेखि १५ वर्ष उमेर समूहका १ लाख ४८ हजार ९३३ जना बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य रहेकोमा हालसम्म १ लाख ४७ हजार ४९१ जनालाई खोप लगाइएको छ । बाँके जिल्ला टाइफाइडको उच्च जोखिममा रहेकाले जोडतोडका साथ सो अभियान सञ्चालन गरिएको जनाउँदै खोप फोकल पर्सन श्रेष्ठले त्यसका लागि सबैको उल्लेखनीय सहयोग प्राप्त भएको बताए ।

जिल्लाका ८१ वटै वडामा विद्यालय तथा स्वास्थ्य संस्थामा २६४ वटा खोप केन्द्र राखेर खोप लगाउने कार्य गरिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

स्वास्थ्य कार्यालयका अनुसार खोप लगाउने बालबालिकामा सबैभन्दा बढी कोहलपुरमा छन् । कोहलपुरमा लक्ष्यभन्दा बढी १३७ प्रतिशत बालबालिकाले खोप लगाएका छन् । कोहलपुरमा २० हजार १४२ जना बालबालिकालाई खोप दिने लक्ष्य रहेकोमा २७ हजार ६६२ जनाले खोप लगाएको बताइएको छ ।

यसैगरी बैजनाथ गाउँपालिकामा ११५ प्रतिशतले सो खोप लगाएका छन् । सो पालिकामा १६ हजार २९० जनालाई खोप दिने लक्ष्य रहेकोमा १८ हजार ८२४ जनाले खोप लगाएका छन् । सबैभन्दा कम खोप लगाउनेमा नरैनापुरका बालबालिका छन् । सो पालिकाका ८० प्रतिशत बालबालिकाले खोप लगाएका छन् ।

नरैनापुरमा १२ हजार ५२७ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा १० हजार ११८ जनाले खोप लगाएका छन् ।हालसम्म खोप लगाउनेमा १५ महिनादेखि २३ महिनासम्मका ५ हजार ४११ बालबालिकाले र २ वर्षदेखि १५ वर्षसम्मका १ लाख ४२ हजार ८० जना रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । खोप अभियानमा विद्यालय र अभिभावकको उत्साहपूर्ण सहभागिता रहेकाले अभियान सफल भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले बताए ।