५ जिल्लाका शिक्षिकालाई मानसिक स्वास्थ्यसम्बन्धि तालिम


५ जिल्लाका शिक्षिकालाई मानसिक स्वास्थ्यसम्बन्धि तालिम

नेपालगन्ज १० पुष : बाँकेको नेपालगन्जमा ५ जिल्लाका शिक्षिकालाई मानसिक स्वास्थ्य प्राथमिक उपचार सम्बन्धि तालिम दिइएकोछ ।

ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी(रेष्ट)को आयोजना तथा अमेरिकन हिमालयन फाउण्डेशनको सहयोगमा मानसिक स्वास्थ्य प्राथमिक उपचारसम्बन्धि प्रशिक्षण दिइएको हो ।

चारदिने उक्त तालिममा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका २५ जना सहजकर्ता तथा सामुदायिक विद्यालयका शिक्षिकाको सहभागिता रहेकोछ ।

तालिममा रेष्टकी सदस्य सचिव सुदीपा ढुंगाना, कार्यकारी निर्देशक डाक्टर अरुणा उप्रेती, आकार फाउण्डेसनकी निर्देशक आशिषा थापा र साइको सोसल काउन्सलर सुदीक्षा आचार्यले मानसिक स्वास्थ्य, पाठेघर खस्ने तथा पोषण सम्बन्धि प्रशिक्षण दिइरहेको रेष्टका प्रदेश संयोजक आयुष ढकालले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

मानसिक स्वास्थ्यलाई सरकारी पक्षबाट यथेष्ट प्राथमिकता नभएको अवस्थामा स्थानीयतहबाट यस्ता कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गर्न सकेमा मानसिक स्वास्थ्य सेवाको पहुँच आम समुदायमा दीर्घकालिन रुपमा विस्तार हुने रेष्टकी कार्यकारी निर्देशक एवम तालिमकी प्रशिक्षक डाक्टर अरुणा उप्रेतीको भनाईछ ।

स्वास्थ्य क्षेत्रका कार्यक्रमहरुमा मानसिक स्वास्थ्यलाई पनि प्राथमिकताका साथ स्थानीयतहमार्फत् नियमित गर्नमा जनप्रतिनिधीहरु लागिपर्नुपर्नेमा उनले जोड दिइन् ।

समुदायमा मानसिक रोगबारे भएका लाञ्छाना तथा विभेदको रोकथाम गर्न र सर्वसाधरणलाई निःशुल्क उपचारको पहुँच विस्तार गर्नमा तालिमको महत्वपुर्ण भूमिका रहेको रेष्टका कार्यक्रम अधिकृत गणेशप्रसाद भट्टराईले जानकारी दिए ।

मानसिक रोगहरुसँग सम्बन्धित विभिन्न लाञ्छाना तथा विभेदको कारणले उपचारको पहुँचमा जान डराउने र उपचारको पहुँचमा पुगेकाहरुले पनि प्रभावकारी उपचारलाई निरन्तरता दिन नसकेको कारण समुदायमा मानसिक समस्या निको नहुने रोगको रुपमा बुझिने गरेको छ ।

तालिमपश्चात समुदायस्तरबाटै मानसिक रोगको निदान, उपचार तथा आवश्यक आधारभुत मनोसामाजिक सहयोग र जटिल समस्या भएकाहरुलाई सिफारिस गर्नको लागी सहज हुने सहभागीहरुले बताएका छन् ।
रेष्टले बाँके, बर्दिया र सुर्खेत लगायत १८ वाटा जिल्लामा मानसिक स्वास्थ्य, मनोसामाजिक तथा बालिका शिक्षासंगै विभिन्न कार्यक्रम गर्दै आएकोछ ।