नेपालगन्ज १२ पुष : वन तथा वातावरण विभागले काठमाडौं उपत्यकामा वायु प्रदूषणको मुख्य कारण गाडीले फ्याक्ने धुवाँ रहेको जनाएको छ ।
विभागले धुवाँ नियन्त्रणका लागि उपत्यकामा गाडीहरूको प्रदूषण जाँचलाई कडाइ गरेको र त्यसपछि देशका अरू मुख्य सहरमा पनि सवारी प्रदूषण जाँचको तयारीमा रहेको जनाएकोे छ ।
प्रदूषण जाँचमा पास हुन नसक्ने गाडीलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने विभागले चेतावनी दिएको छ । कैफियत भेटिएमा वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ को उपदफा २ अनुसार जरिवाना हुने बताइएको छ ।
यही पुस १ गतेदेखि सुरु भएको प्रदूषण जाँच अभियानमा काठमाडौं उपत्यकामा चल्ने २८ भन्दा बढी गाडीलाई कारबाहीसहित जरिवाना गरिएको विभागले जनाएको छ ।
गाडीहरूले फ्याँक्ने धुवाँको अवस्थाबारे प्रदूषण जाँच गर्ने ‘स्मोक डेन्सिटिमिटर’मार्फत छड्के जाँच सुरु गर्ने गरिएको विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार प्रदूषण जाँचमा फेल भएका गाडीधनीलाई पाँच हजार रुपैयाँ जरिवाना तिराइएको र तीन दिनभित्र मर्मत गराएर पुनः परीक्षणका लागि विभागमा आउन भनिएको छ ।
उक्त जाँचमा काठमाडौं उपत्यकामा चल्ने गाडीहरूले फ्याँक्ने धुवाँको अवस्था खराब देखिएको बताइएको छ । ‘भाडामा चल्ने धेरै गाडी प्रदूषण जाँचमा फेल भएका छन्,’ वातावरण विभागका प्रवक्ता पौडेलले भने,‘विभागले विशेषगरी डिजेलबाट चल्ने जीप, भ्यान, बसलगायत परीक्षण गर्दै आएको छ । गाडी प्रदूषण पास नभएसम्म पटक–पटक जाँच गर्न लगाउनेछौँ ।’
यसैगरी, विभागले टोली बनाएर उपत्यकाका विभिन्न ठाउँमा गाडीहरूले फ्याँक्ने धुवाँको अवस्था बुझ्न छड्के जाँच पनि गरिरहेको छ । टोलीले प्रदूषण जाँच गर्ने स्मोक डेन्सिटिमिटरमार्फत गाडीले फ्याँक्ने धुवाँको परीक्षण गर्दै आएको हो ।
छड्के जाँचमा प्रदूषण जाँचपासका रूपमा हरियो वा अरू स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँचमा अनुत्तीर्ण हुने गाडीलाई जरिवाना गरिने जनाइएको छ । -रासस
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे