वायु प्रदूषणको मुख्य कारण गाडीले फ्याक्ने धुवाँ


वायु प्रदूषणको मुख्य कारण गाडीले फ्याक्ने धुवाँ

नेपालगन्ज १२ पुष : वन तथा वातावरण विभागले काठमाडौं उपत्यकामा वायु प्रदूषणको मुख्य कारण गाडीले फ्याक्ने धुवाँ रहेको जनाएको छ ।

विभागले धुवाँ नियन्त्रणका लागि उपत्यकामा गाडीहरूको प्रदूषण जाँचलाई कडाइ गरेको र त्यसपछि देशका अरू मुख्य सहरमा पनि सवारी प्रदूषण जाँचको तयारीमा रहेको जनाएकोे छ ।

प्रदूषण जाँचमा पास हुन नसक्ने गाडीलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने विभागले चेतावनी दिएको छ । कैफियत भेटिएमा वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ को उपदफा २ अनुसार जरिवाना हुने बताइएको छ ।

यही पुस १ गतेदेखि सुरु भएको प्रदूषण जाँच अभियानमा काठमाडौं उपत्यकामा चल्ने २८ भन्दा बढी गाडीलाई कारबाहीसहित जरिवाना गरिएको विभागले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

गाडीहरूले फ्याँक्ने धुवाँको अवस्थाबारे प्रदूषण जाँच गर्ने ‘स्मोक डेन्सिटिमिटर’मार्फत छड्के जाँच सुरु गर्ने गरिएको विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार प्रदूषण जाँचमा फेल भएका गाडीधनीलाई पाँच हजार रुपैयाँ जरिवाना तिराइएको र तीन दिनभित्र मर्मत गराएर पुनः परीक्षणका लागि विभागमा आउन भनिएको छ ।

उक्त जाँचमा काठमाडौं उपत्यकामा चल्ने गाडीहरूले फ्याँक्ने धुवाँको अवस्था खराब देखिएको बताइएको छ । ‘भाडामा चल्ने धेरै गाडी प्रदूषण जाँचमा फेल भएका छन्,’ वातावरण विभागका प्रवक्ता पौडेलले भने,‘विभागले विशेषगरी डिजेलबाट चल्ने जीप, भ्यान, बसलगायत परीक्षण गर्दै आएको छ । गाडी प्रदूषण पास नभएसम्म पटक–पटक जाँच गर्न लगाउनेछौँ ।’

यसैगरी, विभागले टोली बनाएर उपत्यकाका विभिन्न ठाउँमा गाडीहरूले फ्याँक्ने धुवाँको अवस्था बुझ्न छड्के जाँच पनि गरिरहेको छ । टोलीले प्रदूषण जाँच गर्ने स्मोक डेन्सिटिमिटरमार्फत गाडीले फ्याँक्ने धुवाँको परीक्षण गर्दै आएको हो ।

छड्के जाँचमा प्रदूषण जाँचपासका रूपमा हरियो वा अरू स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँचमा अनुत्तीर्ण हुने गाडीलाई जरिवाना गरिने जनाइएको छ । -रासस