चिसो बढ्दा नेपालगन्जको जनजीवन प्रभावित


चिसो बढ्दा नेपालगन्जको जनजीवन प्रभावित

चिसो बढेपछि नेपालगन्जको कारकाँदो चोक नजिक आगो ताप्दै स्थानीय । तस्विर :विजय मल्ल/ सेतोखरी

नेपालगन्ज १२ पुष : अचानक बढेको चिसोका कारण बाँकेसहित लुम्बिनी प्रदेशको विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । अत्यधिक चिसोका कारण बालबालिका र बृद्धा बढी प्रभावित भएका छन् । ह्वात्तै बढेको चिसोले यसक्षेत्रको जनजीवन थप कष्टकर बन्दै गएको छ ।

केहीदिनदेखि दिनभरीजसो घाम लागेपनि सोमबारदेखि ह्वात्त चिसो बढेको हो । चिसोका कारण नेपालगन्जमा सर्वसाधरणको उपस्थित पातलिएकोछ । नेपालगन्जमा चिसो छल्न सर्वसाधरण तथा ब्यापारीहरु आ–आफ्ना घर, पसल अगाडी आगो बालेर न्यानो बनिरहेकाछन् ।

चिसो बढेसंगै नेपालगन्ज नगरका मुख्य चोकहरुमा आगो ताप्ने ब्यवस्था मिलाइदिन सर्वसाधरणले माग गरेकाछन् । आगो ताप्नका लागि ड्रमसहित मुख्य चोकहरुमा सुरक्षितरुपमा दाउरा बाल्ने ब्यवस्था गरिदिन नगरबासीको माग छ।

यसअघि चिसोबाट बच्न भन्दै नेपालगन्ज उपमहानगरपालिकाले नगरका विभिन्न स्थानमा फालमको ड्रमसहित निशुल्क दाउराको व्यवस्थापन गरिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

चिसो मौसममा बालबालिकालाई विशेष गरी श्वास प्रश्वासमा समस्या देखिने, बृद्घ बृृद्घामा जाडोले कठ्याग्रिने, हाड जोर्नी दुख्ने र शीतलहरले ज्यानसमेत जान सक्ने गम्भीर समस्या उत्पन्न हुनेगर्छ । चिकित्सकले चिसो बढ्दै जाँदा बालबालिका, बृद्धबृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिको विशेष ख्याल गर्न आग्रह गरेका छन् । वर्षेनी चिसोका कारण कठ्याङ्ग्रिएर सर्वसाधारणको मृत्यु हुने गरेको छ । चिसो बढ्न थालेपछि रुघाखोकी, ज्वरो, झाडापालाका बिरामी बढ्नसक्ने भएकाले स्वास्थ्य सर्तकता अपनाउन चिकित्सकको सुझाव छ ।

यसैबीच, हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेका कारण प्रदेश एक, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू–भागमा हुस्सु लागेको छ ।

मङ्गलबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विभागले जनाएकोछ । प्रदेश एक र गण्डकी प्रदेशको हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । भने प्रदेश एकको हिमाली भू–भागमा राति पनि हल्का हिमपातको सम्भावना रहेको छ ।

देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भू–भागमा बिहानीपख हुस्सु लाग्ने संभावना रहेको हुनाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

थप समाचार

चिसोमा यसरी राखौँ स्वास्थ्यको ख्याल