नेपालगन्जको तापक्रम घट्दोक्रममा, चिसोका कारण भेरी अस्पतालमा विरामी बढे


नेपालगन्जको तापक्रम घट्दोक्रममा, चिसोका कारण भेरी अस्पतालमा विरामी बढे

नेपालगन्ज १३ पुष : बाँकेमा पछिल्लो दुई दिनदेखि बढेको शीतलहर र हुस्सुका कारण चिसो अत्यधिक बढेको छ । मंगलबारदेखि सुरु भएको शीतलहर र हुस्सुले गर्दा चिसो धेरै बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको हो ।

नेपालगन्जमा शीतलहरका कारण सर्वसाधरणको उपस्थिती पातलिएकोछ । चिसो बढेका कारण नेपालगन्जका प्रमुख बजार क्षेत्र त्रिभुवन चोक, सदरलाइन, घरबारीटोल, बीपी चोक, वीरेन्द्र चोक र पुष्पलाल चोक लगायतका क्षेत्रमा सर्वसाधरणको चहलपहल घटेको छ । शीतलहरका कारण चिसो बढेपछि बजारमा मानिसको आवागमन घटेको हो ।

शीतलहर र चिसोबाट सबैभन्दा बढी श्रमिक, मजदूर, रिक्सा तथा ठेलागाडा चालक प्रभावित भएका छन् । बालबालिका र ज्येष्ठ नागरिकहरूलाई पनि यसले प्रभाव पारेको छ ।

चिसो बढ्दै गएकाले स्थानीय बासिन्दाले उपमहानगरपालिकासँग टोल टोलमा आगो ताप्न निःशुल्क दाउराको व्यवस्थापन गर्न माग गरेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital

हिउँदयामको मध्यतिर आइपुगेकाले पनि जाडो बढेको मौसमविद्ले बताएका छन् । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई जाडोयाम मानिन्छ । डिसेम्बर महिना सकिएर जनवरी सुरु हुन लागेको छ ।

यसैबीच, केही दिन यता चिसो बढ्दै गएका कारण नेपालगन्जका अस्पतालहरूमा चिसोका बिरामीहरू पुग्ने क्रम फेरि बढेको अस्पतालहरूले जनाएका छन् ।

भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डाक्टर बद्री चापागाईका अनुसार नेपालगन्जमा एकसाता यता निमोनिया, ‘कोल्ड डायरिया’ र रुघाखोकीका विरामी बढेका छन् । यसरी विरामी हुनेमा बालबालिका र ज्येष्ठ नागरिकहरू बढि रहेकाछन् ।

यस्तै शीतलहर, कुहिरो र भिजिबिलिटी कम भएका कारण तीन दिनयता बिहान र बेलुका नेपालगन्जबाट हुने अधिकांश हवाई उडान प्रभावित भएका छन् । पहाडी जिल्लाहरू हुम्ला, बाजुरा, मुगुको रारा, डोल्पा र जुम्लाका लागि बिहान हुने हवाई उडानहरू मध्ये अधिकांश रद्द हुँदै आएको र केहीमा ढिलाइ हुने गरेको नागरिक उड्डयन कार्यालय नेपालगन्जले जनाएको छ ।

सोही प्रकारले सङ्घीय राजधानी काठमाडौँका लागि बिहान र बेलुका हुने हवाई उडान पनि प्रभावित भइरहेको सो कार्यालयले जनाएको छ । जल तथा मौसम विभाग फिल्ड कार्यालय राँझाका अनुसार गत तीन दिनदेखि नेपालगन्जको तापक्रम घट्दै गएको छ । मंगलबार र बुधबार तापक्रम झनै घटेर ७ देखि ८ डिग्रीसम्म पुगेको सो कार्यालयले जनाएको छ ।