फेरि बढ्न थाल्यो कोरोना, नेपालगन्ज नाकामा एक जना संक्रमित


फेरि बढ्न थाल्यो कोरोना, नेपालगन्ज नाकामा एक जना संक्रमित

File Photo

नेपालगन्ज १४ पुष : नेपालमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८५८ जनाको नमुना परीक्षणमध्ये ३१९ जनाको पीसीआर परीक्षण गर्दा १४ जनामा संक्रमण देखाएको हो ।

यस्तै बिहीबार २७ जना कोरोनाका संक्रिय संक्रमित पुगेका छन् । यसअघि मंगलबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १६ जना कोरोनाका संक्रिय संक्रमित थिए ।

यस्तै सोमबार १ जनामा कोरोना संक्रमित थिए भने १० जना कोरोनाका सक्रिय संक्रमित थिए । बिहीबार १३ हजार ३३८ जनाले खोप लगाइसकेको मन्त्रालयले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

यसैबीच, बाँकेमा करीब तीन महिनापछि कोरोना संक्रमित भेटिएका छन् । नेपालगन्जको जमूनाह नाकामा परीक्षणका क्रममा भारतको सिमलाबाट फर्किएकी जाजरकोटकी ३० वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्रका सम्पर्क व्यक्ति तेज ओलीका अनुसार गत असोज १ गतदेखि बाँकेमा कोरोना संक्रमित फेला परेका थिएनन् । करिब तीन महिनापछि आज पहिलोपटक फेला परेको हो । छिमेकी देशमा कोरोना संक्रमणको नयाँ भेरियण्ट देखिन थालेपछि सीमामा स्वास्थ्य परीक्षण हुन थालेको हो ।

तीन महिनापछि कोरोना संक्रमित भेटिएपछि जिल्ला कोभिड –१९ व्यवस्थापन केन्द्रको बैठक बिहीबार बसेको छ । बैठकमा कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि ठोस र प्रभावकारी कदम चाल्ने निर्णय भएको छ । सीमा नाकामा स्वास्थ्य परीक्षणमा कडाइ गर्ने निर्णय गर्दै बैठकले स्वास्थ्य मापदण्ड पालनाका लागि आम नागरिकमा आग्रह गरेको छ ।

‘जिल्लामा कोभिडको बुस्टर डोज अभाव भएकाले केन्द्रमा माग गर्ने निर्णय भएको छ’, जिल्ला कोभिड व्यवस्थापन केन्द्रका सम्पर्क व्यक्ति ओलीले भने,‘आम नागरिकमा समेत सचेतना अपनाउन अपील गरिएको छ ।’
स्थानीय तहहरूले समेत स्थानीयस्तरमा कोभिडविरुद्धको सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र स्वास्थ्य मापदण्ड पालनाका लागि अभियान सञ्चालन गर्ने भएका छन् ।