वेस्टर्न ट्राभल मार्टको तयारी तिव्र


वेस्टर्न ट्राभल मार्टको तयारी तिव्र

दोस्रो संस्करणको वेस्टर्न ट्राभल मार्टको तयारीका बारेमा बाँकेका पत्रकारसंग छलफल गर्दै नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्त र नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल लगायत ।

नेपालगन्ज २४ पुष: आगामी माघ अन्तिम साता नेपालगन्जमा आयोजना हुने दोस्रो संस्करणको वेस्टर्न ट्राभल मार्टको तयारी तिव्र पारिएकोछ। पश्चिम नेपालको पर्यटकीय गन्त्वयहरुको प्रर्वद्धन गर्दै आर्थिक विकास गर्ने उद्देश्य सहित आयोजना हुने वेस्टर्न ट्राभल मार्टको दोस्रो संस्करण माघको २७ देखि २९ गतेसम्म नेपालगन्जमा भब्यरुपमा गर्ने तयारी गरिएको हो ।

आयोजक नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) बाँके च्याप्टरका अध्यक्ष एवम् पर्यटन व्यवसायी श्रीराम सिग्देलले यसपटक पनि भारतका दिल्ली, आगरा, गोण्डा, बनारस, लखनउबाट पर्यटन व्यवसायी, पर्यटकहरुलाई ल्याउने तयारी भैरहेको बताए ।

पहिलोपटक भारतमा पर्यटन प्रर्बद्धनका क्षेत्रमा काम गरिरहेको ट्राभल एजेण्ट एशोसियसन अफ इन्डिया(टिएएआई)का पदाधिकार र सदस्य सहितको ७५ जनाको जम्बो टोली नेपाल आउने नाट्टा बाँकेले आईतबार नेपालगन्जमा पत्रकारसंग गरेको छलफलमा जानकारी गराएको थियो ।

दोस्रोपटक नेपालगन्जमा हुन लागेको मार्टमा आउनु पश्चिम क्षेत्रका पर्यटन व्यवसायीहरुका लागि गर्वको कुरा भएको नेपाल एशोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स(नाटा) बाँके अध्यक्ष एवम् पर्यटन व्यवसायी सिग्देलले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

नेपालगन्जमा हुन लागेको मार्टमा नेपाल पर्यटन बोर्डको पनि सहयोग रहेको छ । विश्वमा पर्यटन व्यवसायको ठुलो हिस्सा भारतले ओगटेकाले भारतका पर्यटकलाई नेपालमा भित्रयाउने प्रयास गरिरहेको सिग्देलले बताए । मार्टमा भारतीय पर्यटन व्यवसायी, पत्रकार गरी करिब एक सय जना भन्दा बढी भारतबाट आउने उनले बताए ।

मार्टको दोस्रो संस्करणलाई अझ विशेष बनाउने गरी कर्णाली, लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्य, कला संस्कृतिलाई प्राथमिकतामा राखेर काम गर्ने अध्यक्ष सिग्देलले बताए । मार्टमा आउने पाहुनालाई पर्यटन सम्बन्धी स्टलदेखि लिएर यस क्षेत्रका धार्मिक एवम् पर्यटकीय गन्त्वयको भ्रमण गराउने, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण, कर्णाली नदिमा रयाफटिङ, रारा यात्रा, माउण्टेन फलाईट गराउने तयारी आयोजकले गरिरहेको छ ।

अध्यक्ष सिग्देलका अनुसार दोस्रो संस्करणले बाँकेका दुई वटा ऐतिहासिक धार्मिक स्थल नरैनापुरको बाबा बर्फानी र सन्तानेश्वर महादेवको मन्दिरलाई विशेष रुपमा प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ । यसैगरी नेपालको मौलिक उत्पादनको रुपमा रहेको ‘अल्लो’ बाट निर्माण गरिएको सामाग्री र सालिग्रामको प्रचारका लागि आयोजक नाटा बाँकेले काम गर्ने अध्यक्ष सिग्देलले बताए ।

पछिल्लो समय अल्लोबाट निर्माण गरिएका लुगाहरुको माग बजारमा बढदै गएको छ । नेपालको मौलिक उत्पादनको बजारीकरणमा सहयोग गर्ने वातावरण निर्माण गर्ने उद्देश्यले त्यसको बिशेष रुपमा प्रवर्दन गर्ने आयोजक नाटाले बताएको छ ।

मार्टका दौरान पश्चिम नेपालमा लगानीको वातावरण निर्माण, सम्भावनाको खोजिको बारेमा छलफल गर्न नेपालका पर्यटन व्यवसायी, उद्योगपतिलाई निमन्त्रण गर्ने तयारी गरेको नेपाल एशोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स(नाटा) लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले बताईन् ।

‘पर्यटन क्षेत्रको विकास हुँदा समग्र देशले फाइदा लिन सक्छ । आर्थिक विकासको आधारमा पर्यटन पनि एक हो । हामी पश्चिम नेपाललाई पर्यटनको क्षेत्रमा विश्वभरी चिनाउने लक्ष्य सहित काम गरिरहेका छौं’ उनले बताइन् ।