नेपालगन्जका १० वडामा ‘बजेट प्रक्रियामा नागरिक सहभागिता कार्यक्रम’


नेपालगन्जका १० वडामा ‘बजेट प्रक्रियामा नागरिक सहभागिता कार्यक्रम’

नेपालगन्ज २६ पुष : नेपालगन्ज उपमहानगरपालिकामा सार्वजनिक वित्त व्यवस्थापनमा नागरिक सहभागिता कार्यक्रम सञ्चालनमा छ । युरोपियन युनियन, युनिसेफ, युएन विमेनको सहयोग एवम् मित्र समाज र डेक्को नेपालको संयुक्त संयोजकत्वमा सञ्चालित यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनबारे आज अभिमुखीकरण गरिएको छ ।

नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई लगायत वडा अध्यक्ष, सदस्य र कार्यपालिका सदस्यहरुको उपस्थितिमा आजोजित सार्वजनिक वित्त व्यवस्थापनमा नागरिक सहभागिता सम्बन्धि पालिका स्तरीय अभिमुखीकरण कार्यक्रममा मित्र समाजका टिम लिडर विनय दिल लामाले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए ।

बजेट योजना, कार्यान्वयन र अनुगमन प्रक्रियामा नागरिकहरुको अर्थपूर्ण सहभागिताले सार्वजनिक सेवाहरुमा पहुँच सुनिश्चित गराउन सकिने बताउँदै उनले यसले सामाजिक ऐक्यवद्धता र सुशासन प्रबद्र्धन गर्ने बताए ।

यो कार्यक्रमका लागि आजै नेपालगन्जका १० वटा वडा छनौट गरिएको छ । वडा नम्बर २, ६, ९, ११, १४, १५, १६, २०, २१ र २२ यो कार्यक्रमका लागि छनोट भएकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

यस कार्यक्रममार्फत अपांगता भएका, सीमान्तकृत, महिला, बालिबालिका, जेष्ठ नागरिक, विपन्न बर्गलाई विशेष अभिमुखीकरण गरेर अर्थपूर्ण सहभागिता सुनिश्चित गरिनेछ । कार्यक्रम अन्तर्गत वडा स्तरीय वाच ग्रुप अभिमुखीकरण, निर्माण र संस्थागत गर्ने, वडा स्तरीय महिला समूह छलफल, विपन्न बर्गहरुको छलफल, जेष्ठ नागरिक छलफल, सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धि शिक्षा कार्यक्रम लगायतका क्रियाकलापहरु सञ्चालन गरिने मित्र समाजका टिम लिडर लामाले जानकारी दिए ।

अभिमुखीकरण कार्यक्रममा नगर प्रमुख विष्टले बजेट निर्माण र कार्यान्वयनमा नागरिकको अर्थपूर्ण उपस्थिति र सहभागिताले विकासमा अपनत्वसंगै त्यसको लाभ ग्रहणमा जिम्मेवार बनाउने बताए । उनले दिगो विकासका लागि बजेट निर्माण र कार्यान्वयनमा नागरिक सहभागिता महत्वपूर्ण हुने बताए । सार्वजनिक वित्त व्यवस्थापनमा नागरिक सहभागिता कार्यक्रम यही बर्षदेखि नेपालगन्जसहित देशका पाँच वटा नगरपालिकामा सञ्चालित छ ।