खुल्ला दिशामुक्त घोषणा : आफ्नो घरमा शौचालय नबनाउने ४ सरकारी कर्मचारीलाई कारबाही


खुल्ला दिशामुक्त घोषणा : आफ्नो घरमा शौचालय नबनाउने ४ सरकारी कर्मचारीलाई कारबाही

सांकेतिक तस्विर

नेपालगन्ज ६ माघ : खुल्ला दिशामुक्त घोषणा भएको तीन वर्ष वितिसक्दा पनि आफ्नो घरमा शौचालय निर्माण नगर्ने चार जना सरकारी कर्मचारी कारबाहीमा परेका छन् ।

यो घटना कपिलवस्तुको हो । कपिलवस्तुको विजयनगर गाउँपालिकामा कार्यरत ती कर्मचारी कारबाहीमा परेका हुन् । उक्त गाउँपालिका तीन वर्षअघि नै खुल्ला दिशामुक्त घोषणा भइसकेको छ । तर, यसको कार्यान्वयन कर्मचारीले स्वयमले नै नगरेको पाएपछि पालिकाले कारबाही गरेको हो ।

आफ्नै घरमा शौचालय नबनाएको भन्दै विजयनगर गाउँपालिका वडा नम्बर–७ को कार्यालयले विभागीय कारबाहीका लागि पालिकालाई सिफारिस गरेको छ ।

विजयनगर गाउँपालिका कृषि शाखामा कार्यरत सञ्जयकुमार गुप्ता, तारा माध्यमिक विद्यालयमा कार्यरत जगनारायण गुप्ता, जनज्योति आधारभूत विद्यालयमा कार्यरत मुस्लिम मुसलमान र वडा नम्बर–३ मा कार्यरत सहयोगी दयाराम लोनियालाई विभागीय कारबाही गर्न पत्र पठाइएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

वडाले विगतदेखि सरसफाइको अभियान सञ्चालन गर्दै आएको भएपनि अटेरी गरेकोले कारबाही गर्न सिफारिस गरिएको हो । कारबाहीको सिफारिसमा परेका कर्मचारीलाई गाउँपालिकाले स्पष्टीकरण लिने गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले बताएकाछन् ।