राजश्व असुलीमा नेपालगन्ज भन्सार कम्जोर


राजश्व असुलीमा नेपालगन्ज भन्सार कम्जोर

File Photo

नेपालगन्ज ७ माघ : राजश्व असुलीमा नेपालगन्ज भन्सार कार्यालय कम्जोर पाइएकोछ । एक वर्षदेखि ओरालो लागेको नेपालगन्ज भन्सारको राजस्व असुलीमा यस वर्षको पुष मसान्तसम्ममा पनि सुधार हुन सकेको छैन ।

आर्थिक वर्ष २०७८/७९ को साउन र असोजमा मात्र लक्ष्य प्राप्त गरेको नेपालगन्ज भन्सार कार्यालयले त्यसपछि आफ्नो निर्धारित लक्ष्य भेटाउन सकेको छैन ।

भन्सार राजस्व असुलीमा गतवर्ष साउनमा १३१ दशमलव ४८ प्रतिशत लक्ष्य रहेकोमा भन्सार कार्यालय चालू आर्थिक वर्षको साउनमा लक्ष्यको ७५ दशमलव ७१ प्रतिशत मात्र असुली गर्न सफल भएको छ ।

चालू आव २०७९/८० को साउनमा १ अर्ब ७८ करोड ५ लाख रुपैयाँ असुलीको लक्ष्य पाएको भन्सारले एक अर्ब ३५ करोड ४ लाख र भदौमा २ अर्ब २३ करोड ३६ लाख रुपैयाँको लक्ष्य रहेकोमा एक अर्ब ४३ करोड ४९ लाख रुपैयाँ राजस्व असुली गरेको भन्सार अधिकृत तथा सूचना अधिकारी डिल्लीप्रसाद शर्मा बताउँछन् ।

Kanti Aarogya Hospital Nepalgunj

यसैगरी असोजमा नेपालगन्ज भन्सारकार्यालयको राजस्व असुली घटेर लक्ष्यको ५५ प्रतिशतभन्दा कममा झरेको छ । कार्यालयको तथ्यांकअनुसार असोजमा २ अर्ब ३४ करोड १९ लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य राखिएकोमा एक अर्ब २८ करोड ४८ लाख मात्र असुली भएको छ ।

गत मङ्सिरमा नेपालगन्ज भन्सारले लक्ष्यको ५५ दशमलव २१ प्रतिशत मात्रै राजस्व असुली गरेको छ । कार्यालयले २ अर्ब ४९ करोड ५० लाख लक्ष्य पाएकोमा १ अर्ब ३७ करोड ७४ लाख रुपैयाँ राजस्व संकलन भएको शर्माले बताए । पुषमा २ अर्ब ६७ करोड ६ लाख रुपैयाँ लक्ष्य निर्धारण गरिएकोेमा १ अर्ब ५० करोड ८० लाख रुपैयाँ संकलन गरेको छ । यो लक्ष्यको ५६ दशमलव ३० प्रतिशत हो ।

नेपालगन्ज भन्सारले आर्थिक वर्ष २०७८/७९ मा २५ करोड २१ लाख ६ लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएकोमा २२ अर्ब ३१ करोड २६ लाख रुपैयाँ असुली गरेको थियो । यो लक्ष्यको ८८ दशमलव ५१ प्रतिशत हो ।

नेपालगन्ज भन्सारले चालू आर्थिक वर्ष २०७९/८० का लागि गत आर्थिक वर्ष २०७८/७९ को भन्दा ४ अर्ब रुपैयाँ बढी राजस्व संकलनको लक्ष्य पाएको छ । कार्यालयले चालू आर्थिक वर्षमा २९ अर्ब ३२ करोड ९५ लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएको छ । गत आर्थिक वर्षमा कार्यालयले २५ करोड २१ लाख ६ लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएको थियो ।