सुर्खेत सडक दुर्घटनामा चार स्वास्थ्यकर्मीको मृत्यु, एक गम्भीर घाइते


सुर्खेत सडक दुर्घटनामा चार स्वास्थ्यकर्मीको मृत्यु, एक गम्भीर घाइते

नेपालगन्ज ८ माघ : सुर्खेतमा गाडी दुर्घटना हुँदा ४ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएकाछन् ।

सुर्खेतको वीरेन्द्रनगर–११ झुप्राखोला नजिक रत्न राजमार्गमा डबल क्याप हाइलेक्स गाडी दुर्घटना भएको हो । दुर्घटनामा परी चार जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकोछ ।

छिन्चुदेखि सुर्खेततर्फ जाँदै गरेको बा प्र ०१०२६ च ९२१३ नम्बरको उक्त गाडी आईतबार बिहान २ः३० बजे अनियन्त्रित भई सडकदेखि ७०/८० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको र उपचारका क्रममा चार जनाको मृत्यु भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

मृत्यु हुनेमा २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गापा–५ बस्ने वर्ष ३३ का दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका– ५ बस्ने वर्ष ३१ का बबिन शाही, दैलेख गुराँस गापा–३ बस्ने वर्ष ३६ का राजेन्द्र बीसीको उपचारका क्रममा निधन भएको सुर्खेत प्रहरीले बताएकोछ।

गाडी दुर्घटनामा ज्यान गुमाउने सबै स्वास्थ्यकर्मी हुन् । दीपेन्द्र दैलेख डुंगेश्वर गाउँपालिका स्वास्थ्य शाखामा, बबिन भगवतीमाई गाउँपालिका स्वास्थ्य शाखामा, राजेन्द्र गुँरास गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत थिए । सागर भने सवारी चालक हुन् ।

त्यसैगरी, दैलेख भैरवी गापा– ५ बस्ने वर्ष २६ का वीरेन्द्रराज शाहीको छातीमा गम्भीर चोट लागेको हुँदा उपचार भइरहेको सुर्खेत प्रहरीले जानकारी दिएको छ ।