नेपालगन्ज : संसदीय समितिले बिहीबार नेपालगन्ज मेडिकल कलेजको अनुगमन गरेको छ । समितिले देशभरका २२ वटा मेडिकल कलेजको स्थलगत अनूगमन गर्ने क्रममा बिहीबार बाँकेको नेपालगन्ज मेडिकल कलेजको अनुगमन गरेको हो । कलेज अनुगमनका लािग नेकपाका नेता योगेश भट्टराई सहितको टोली नेपालगन्ज आएको छ ।
मेडिकल कलेजको शुल्क विवादबारे संसदीय उपसमितिमा छानबिन तथा अनुगमन शुरु गरेको हो । स्वास्थ्य समितिअन्तर्गत सुरेशकुमार राईको संयोजकत्वमा गठित उपसमितिले देशभरका मेडिकल कलेजमा छानबीन तथा स्थलगत अनुगमन गरेको छ ।
उपसमितिले बिहीबार सम्बन्धित मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी, अभिभावक, जनप्रतिनिधिहरु र अन्य सरोकारवालाहरुलाई कलेजले मर्का पर्ने गरी कुनै क्रियालकलाप गरेको भए पत्राचार गर्न आव्हान गरेको छ ।
उपसमितिले यसअघि सार्वजनिक सूचना निकालेर मेडिकल कलेजले लिइरहेको शुल्कलगायतका विषयमा कुनै गुनासो वा उजुरी भए १५ दिन भित्र पठाउन भनेको थियो । मेडिकल कलेजहरुले बढी शुल्क लिएको भए विद्यार्थी, अभिभावक, जनप्रतिनिधि वा अन्य सरोकारवालाहरुले उपसमितिसमक्ष उजुरी दिन सक्नेछन् ।
सरकारले एमबीबीएस अध्यययन गर्न उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार शुल्क तोकेको छ । बीडीएसतर्फ भने १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ शुल्क तोकिएको छ । तर, निजी मेडिकल कलेजहरूले विद्यार्थीसँग ६० लाखसम्म शुल्क लिएको सार्वजनिक भएपछि विवाद सुरु भएको थियो ।
मेडिकल कलेजहरुले लिइरहेको बढी शुल्कका विषयमा छानबिन गर्न संसदको शिक्षा तथा स्वास्थ्य समितिले उपसमिति गठन गरेको थिाये । सांसद सुरेश राईको संयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको हो ।
समितिमा सांसदहरु खगराज अधिकारी, योगेश भट्टराई, चित्रलेखा यादव, उमेश श्रेष्ठ, एकबाल मियाँ, जीवनराम श्रेष्ठ, मनकुमारी जिसी र सन्तकुमार थारु सदस्य रहेको समितिका सचिव जीवराज बुढाथोकीले बताए ।
उनका अनुसार समितिको पहिलो बैठक बसेको मितिले एक महिनाभित्र उपसमितिले प्रतिवेदन बुझाउनु पर्नेछ । यसकै लागि उक्त समिति अन्र्तगतको टोलीले नेपालगन्जको मेडिकल कलेजमा बिहीबार अनुगमन गरेको छ ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेश भट्टराईले आगामी निर्वाचनमा पार्टीले झन् बढि सफलता पाउने बताएका छन । प्रेस संगठन बाँकेले बिहीबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले सरकारले डेढ बर्ष कार्यकालबाट सिक्दै अघि बढ्ने बताए ।
उनले अघिल्लो आर्थिक बर्ष सरकारको आधार बर्ष भएको भन्दै चालु आव आर्थिक विकास र समृद्धिको बर्ष हुने बताए । अबको तीन बर्षभित्र मुलुकमा देखिने गरि परिवर्तन हुने दावी गर्दै नेता भट्टराईले एक बषर्भित्र पार्टी मातहत कमिटीको अधिवेशन गरि डेढ बर्ष्भित्र एकताको महाधिवेशन गर्ने बताए । उनले पार्टी एकतालाई पूर्णता दिनेक्रममा स्कुल विभागको प्रमुखका लागि देखिएको विवाद सामान्य भएको समेत टिप्पणी गरेका छन ।
उनले स्कुल विभागको नेतृत्व जसको भएपनि पार्टीको लाईन जनताको जनवाद नै हुने दावी गरेका छन । पार्टी एकताको सम्पूर्ण काम एक साताभित्र सम्पन्न गरेर आन्तरिक तयारी गरि दुई महिना संगठन सुदृढिकरण र जनपरिचालन गरिने भट्टराईले बताए ।