प्रेम आचार्यको निधन : नेपालगन्जमा पसल बन्द गरिने, धम्बोझीमा शोकसभा हुने

आचार्यले उठाएका विषयमाथि छानबिन हुने


प्रेम आचार्यको निधन : नेपालगन्जमा पसल बन्द गरिने, धम्बोझीमा शोकसभा हुने

नेपालगन्ज ११ माघ : इलामको सूर्योदय नगरपालिका निवासी व्यवसायी प्रेमप्रसाद आचार्य ‘सन्तोष’को संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा भएको निधनको शोकमा नेपालगन्ज उद्योग वाणिज्य संघले भोलि बिहीबार सम्पूर्ण उद्योग, व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । साथै बिहान १० बजेदेखि १ बजेसम्म धम्बोझीचोकमा शोकसभा गर्ने निर्णय गरिएको अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।

संघले बुधबार पत्रकार सम्मेलनमार्फत जारी गरेको विज्ञप्तीमा भनिएकोछ –‘इलामको सूर्योदय नगरपालिका निवासी व्यवसायी प्रेमप्रसाद आचार्य ‘सन्तोष’को संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा भएको निधनले हामीलाई स्तब्ध र मर्माहत बनाएको छ ।

सरकारका अव्यवहारिक र अनुचित नितिका कारण उद्योग/व्यवसाय धराशायी बनेको छ । व्यवसायीहरु घर न घाटको अबस्थामा आइपुग्नुपरेको छ । हाल उत्पन्न समस्या समाधान गर्दै सहज वातावरण निर्माणको पर्खाइमा बसेका व्यवसायी तथा जनतालाई सरकारका तर्फबाट राहत महसुस हुने कुनै कदम चालिएको छैन । हरेक क्षेत्रमा अनुचित र अव्यवहारिक नीति बनाउदाको परिणाम स्वदेशमै रहेर इलम गर्ने सपना देखेका होनहार व्यवसायी प्रेमप्रसाद आचार्यले अत्यन्तै गम्भीर र मानवजिवनमा अस्वीकार्य कदम चाल्न बाध्य हुनुभयो । दुःखको यस घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ, साथै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्दै हार्दिक समबेदना व्यक्त गर्दछौं ।’

संघद्वारा जारी विज्ञप्तीमा अगाडी भनिएकोछ–‘अकल्पनीय घटनाले देशभरका उद्योगी÷व्यवसायीलाई मर्माहत र पीडा दिएको छ । यो एउटा व्यक्तिको मृत्यु भएको सामान्य घटना होइन हरेक क्षेत्रमा अब्यवहारिक नीति निर्माण गर्ने राज्य चलाउनेहरुको अनुहारमा कहिले पनि नमेटिने गरेर लागेको कालो धब्बा हो । आत्मदाह पुर्ब आचार्यले उठान गर्नु भएको आर्थिक क्षेत्रका अव्यवहारिक नीतिको पीडा हरेक उद्योगी, व्यवसायी भोग्नुपरिरहेको छ । अत नेपालगन्ज उद्योग वाणिज्य संघ अकल्पनीय यस घटनालाई गम्भीरतापूर्वक लिदै बिद्यमान देखा परेका निजिक्षेत्रलाई प्रताडित बनाउने नीति सच्याउन सरकारलाई दवाव दिन र स्वर्गिय आचार्यको निधनको शोकमा २०७९ माघ १२ गते दिउँसो १ बजेसम्म सम्पूर्ण उद्योग व्यवसाय बन्द गर्न आह्वान गर्दछ । साथै सोहि दिन बिहान दस बजेदेखि १ बजे धम्बोझीचोकमा आयोजना गरिन लागेको शोकसभा भेला भइदिनु हुन सम्पुर्ण उद्योगी÷व्यवसायमा अनुरोध छ ।’

Kids Festival 2022
kanti aarogya hospital
add

यसैबीच, आफैंमाथि आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमाथि छानबिन हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उनले उठाएका विषयबारे छानबिन गर्ने निर्णय भएको हो ।

प्रेम आचार्य प्रकरण र अर्थतन्त्रमा उनले उठाएका नीतिगत तथा व्यवहारिक विषयमा छानबिन गर्ने मन्त्रिपरिषद्को निर्णय भएको हो । आचार्यले मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएका थिए ।

प्रहरीले आगो निभाएर उनलाई कीर्तिपुर अस्पताल पठाइएको थियो । त्यहाँ उपचारको क्रममा उनको बुधबार बिहान मृत्यु भएको हो । उनले आफूमाथि आगो लगाउनुअघि सामाजिक सञ्जालमार्फत् आत्मदाह गर्नुको कारण खुलाएका छन् । यससम्बन्धी अनुसन्धान गर्ने जिम्मा गृह मन्त्रालयलाई दिएको छ ।