नेपालगन्जका दिवश शाहले गरे जिवन रक्षाको याचना : ‘पुनर्जन्म पाए गुण तिर्नेछु’


नेपालगन्जका दिवश शाहले गरे जिवन रक्षाको याचना : ‘पुनर्जन्म पाए गुण तिर्नेछु’

नेपालगन्ज १५ माघ: नेपालगन्ज उपमहानगरपालिका ९, शान्तिनगरका दिवश शाहले जिवन रक्षाको याचना गरेका छन् । विगत १० महिनादेखि ढाड र टाउकोको क्यान्सरसँग संघर्ष गरिरहेका शाहले रकम अभावका कारण उपचारमा समस्या भएपछि उनले आम नेपालीसँग जिवन रक्षाको याचना गरेका हुन् ।

‘परिवार र आफन्तसँग भएको रकम अहिलेसम्मको उपचारमा सकियो । थप उपचारका लागि रकम अभाव भएको छ । तपाईँहरुको सहयोग र माया पाए मैले पुनर्जन्म पाउने छु,’ उनले टेलिफोन मार्फत भने, ‘पुनर्जन्म पाएँ भने तपाईहरुले लगाएको गुण तिर्ने प्रतिवद्धता जनाउँछु ।’

उनको यतिबेला भारतको दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । उपचारमा ४५ लाख रुपैँया खर्च भइसकेको उनका पत्नी निशा सिंहले जानकारी दिइन् ।

रकम अभावमा उपचारमा समस्या देखिएकोले पतिको जिवन रक्षाका लागि सक्दो आर्थिक सहयोग गरिदिन उनले याचना गरेकी छन् । ‘एकबारको जिन्दगीमा कतिबेला कसलाई के हुन्छ कुनै निश्चित छैन । अहिले हामीलाई नसोँचेको दुःख आइलागेको छ । हामीमाथि परेको दुःख जस्तो अरु कसैलाई नपरोस् । अहिले हामीलाई सबैको सहयोग र मायाको खाँचो छ । तपाईँहरुले अहिले लगाएको गुण हामीले कहिल्यै विर्सने छैनौँ,’ उनले सबैसँगै आग्रह गर्दै भनिन्, ‘हामीसँग अब अरुको आशा गर्नु बाहेक कुनै उपाय छैन । म हाम्रो पीडामा मल्हम पट्टी लगाई सहयोग गरिदिन सबैलाई आग्रह गर्दछु ।’

Kids Festival 2022
kanti aarogya hospital
add

शान्तिनगरबासीले दिवश शाहको उपचारमा सहयोग पुर्याउन रकम संकलन अभियान थालेका छन् । पहिलो चरणमा आफ्नो टोल र वडामा रकम संकलन गरिरहेको पूर्व खेल प्रशिक्षक समेत रहेका स्थानीय हृदय मास्केले बताए । रकम अभावका कारण शाहको उपचारमा समस्या भएपछि रकम संकलन अभियान थालेको उनले बताए ।

एउटालाई परेको समस्यामा अर्कोले सहयोग गर्ने परम्परालाई मध्यनजर गरि रकम संकलन अभियान थालेका शान्तिनगरका शिवराज पौडेलले बताए । उनले एकजनाले दिएको थोरै रकमले कसैको ज्यान जोगिने भएकोले अभियान सञ्चालन गरेको उनको भनाई छ । ‘तपाई हाम्रो थोरै सहयोगले कसैको ज्यान जोगिन्छ । धेरै जनाले अलिअलि गरेर दिँदा धेरै हुन जान्छ । जसले जति सक्नु हुन्छ त्यति रकम दिन म आग्रह गर्दछु,’ उनले भने ।

रकम संकलनमा स्थानीय निर्दोश ढकाल, राजिव योगी, कृष्णबहादुर भँडेल, नविन पुनमगर लगायत सक्रिय भएर लागेका छन् ।

शाहको उपचारमा सहयोग गर्न चाहनेले निशा सिंहको ई–सेवा नं. ९६०२९७५१ वा निशा सिंह, नेपाल बैंक लिमिटेड, खाता नं. ००४०११०७४२६५७६०००००१ मा रकम जम्मा गरिदिनु हुन परिवारजनले आग्रह गरेका छन् ।