बागेश्वरी मन्दिरमा दोस्रो पटकको ‘महाआरती’

कहाँ–कहाँ हुन्छ महाआरती ?


बागेश्वरी मन्दिरमा दोस्रो पटकको ‘महाआरती’

नेपालगन्ज २३ माघः बाँकेको नेपालगन्जमा अवस्थित पश्चिम नेपालकै प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा दोस्रो पटक महाआरती गरिएकोछ । बागेश्वरी गुठी व्यवस्थापन समितिको संयोजनमा यसअघि गत माघ १५ गते वेष्टर्न ट्राभल मार्टको अवसरमा पहिलोपटक मन्दिरमा महाआरती गरिएको थियो ।

कोहलपुरको जानकी मन्दिरमा रहेका १२ जना बटुकले मन्त्रोचारण गरेर सोबेला महाआरतीको सुरुवात गरेका थिए । सो अवसरमा अब बागेश्वरी मन्दिरमा हप्तामा एकपटक र केही समयपछि दैनिकरुपमा महाआरती गर्नेगरि तयारी शुरुवात गरिएको बताइएको थियो ।

गुठी व्यवस्थापन समितिका संयोजक एवम सांसद डाक्टर धवलशमशेर राणाले लामो समयको प्रयासपछि बागेश्वरी मन्दिरमा महाआरती गर्न सकिएको भन्दै खुशी ब्यक्त गरेका थिए ।

ट्राभल एजेन्ट्स एशोसिएसन अफ नेपाल (नाट्टा) बाँके च्याप्टरको आयोजनामा सोमबार बेलुकी महाआरती गरिएको हो । महाआरतीमा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट लगायत यस क्षेत्रका अगुवा, धार्मिक ब्यक्तित्व, सर्बसाधारणको सहभागिता रहेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले महाआरतीमा नेपालगन्जका विभिन्न क्षेत्र सम्वद्धहरुको सहभागिता रहेको बताए । अब यसरी नै बागेश्वरी मन्दिरमा महाआरतीलाई स्थापित गरिने उनको भनाई छ । सिग्देलले नेपालगन्जलाई धार्मिक पर्यटकीय दृष्टिकोणले एउटा महत्वपूर्ण गन्तव्यका रुपमा जोड्न महाआरती थालनी गरिएको बताए ।

महाआरतीका लागि नेपालगन्ज उपमहानगरपालिका कार्यालय र वेष्टर्न ट्राभल मार्ट नेपालको सहकार्य रहेको थियो ।  धार्मिक पर्यटनको केन्द्र विन्दू बागेश्वरीमा पश्चिम नेपाल घुम्न आउने पर्यटकहरु एकपटक दर्शन गर्न आउनेगर्छन् ।

कहाँ–कहाँ हुन्छ महाआरती ?

महाआरती नेपाल र भारतका धेरै स्थानमा हुने गरेको छ । हिन्दु आराध्यदेव महादेवको काठमाडौंस्थित विश्व प्रसिद्ध पशुपतिनाथको मन्दिरमा बागमति नदीको किनारमा भव्य महाआरती हुुन्छ । पशुपतिनाथको महाआरतीमा सहभागी हुने सबैको मन मस्तिष्कमा आरतीको छाप परेको हुनुपर्छ ।

मधेस प्रदेशको जनकपुरको गंगासागरमा नित्य सन्ध्या आरती हुँदै आएको छ । यस्तै नारायणगढ बजार नजिकै नारायणी नदी किनारमा र पोखरामा पनि फेवाताल किनारमा महाआरती भइरहेको छ ।

भारतको हरिद्वार र बनारसमा पनि नियमित आरती हुन्छ । पण्डित वा बटुकद्वारा बैद्धिक मन्त्र उच्चारण गरी सङ्कल्पसहित पूजाअर्चना गरेर धार्मिक विधि अनुसार महाआरती गरिन्छ । महाआरतीमा तीन जना पण्डितले चारै दिशातर्फ फर्किएर आरतीका विधि पूरा गर्छन् । सन्ध्या आरतीपछि भजन किर्तन पनि हुन्छ । महाआरतीमा सहभागी हुँदा पितृमोक्षका साथै मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।

थप समाचार

बागेश्वरी मन्दिरमा पहिलोपटक महाआरती