कोहलपुरमा जथाभावी फोहोर फाल्नेलाई जरिवाना


कोहलपुरमा जथाभावी फोहोर फाल्नेलाई जरिवाना

कोहलपुर २७ माघ : कोहलपुर नगरपालिकाले तोकिएका स्थान बाहेक अन्य ठाउँमा फोहोर फाल्नेलाई कारबाही सुरु गरेको छ ।

कोहलपुर नगरपालिका –११ स्थित रेडक्रस चोक पछाडि सडक छेउमा फोहोर फाल्नेक्रममा नमस्ते मिटअप पसलका प्रकाश पोखरेललाई कारबाही गरिएको नगरप्रहरी प्रमुख बीरबहादुर थापाले जानकारी दिए ।

पोखरेलले भे५प ४६८१ नम्बरको स्कुटीमा फोहोर ल्याई सडक छेउमा फाल्दै गरेको अवस्थामा नगरप्रहरीको गस्ती टोलीले पक्राउ गरेको थियो । पोखरेललाई फोहोर मैला तथा व्यवस्थापन ऐन २०६८ अनुसार ५ हजार जरिवाना गरिएको छ ।

कोहलपुर नगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्न निषेध गरेको छ । त्यसका लागि नगरप्रहरीले गस्ती समेत गर्दै आएको छ । यसअघि कोहलपुर नगरपालिकाले जथाभावी फोहोर नफाल्न सूचना तथा माइकिङ नै गर्दै आएको थियो । तर, नगरपालिकाको आग्रहलाई अटेरी गरि सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई कारबाहीको दायरामा ल्याउन थालिएको नगर प्रहरी प्रमुख थापाले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

कोहलपुर नगरपालिकाले नगर क्षेत्रलाई सफा तथा सुन्दर बनाउन फोहोरमुक्त अभियान सुरु गरेको छ । नगरप्रहरीले यसअघि बसपार्क, पर्यटन बोर्ड कार्यालय, एनसिसिएन क्षेत्रको फोहोर आफै सफाइ गरेको थियो ।