काँग्रेसलाई सघाएको उजुरी परेपछि माओवादीकी ‘नमुना’ले दिइन् राजीनामा


काँग्रेसलाई सघाएको उजुरी परेपछि माओवादीकी ‘नमुना’ले दिइन् राजीनामा

नेपालगन्ज २८ माघ : लुम्बिनीकी सरकारको बिना विभागीय मन्त्री कृष्णा केसी ‘नमुना’ले राजीनामा दिएकी छन् ।

मन्त्रालय छनोटमा असन्तुष्टि व्यक्त गर्दै माओबादीकी नमुनाले राजीनामा दिएको बताइएकोछ । यद्यपी राष्ट्रिय सभा सदस्य निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई मत हालेर अन्तर्घात गरेको उजुरी पछि नमुनाले राजीनामा दिएको बुझिएको छ ।

माओवादी केन्द्रका नेतासमेत रहेकी मन्त्री केसीले शनिबार विहान बुटवलमा मुख्यमन्त्री लिला गिरी समक्ष राजीनामा पत्र बुझाएकी हुन् । यता माओवादी स्रोतका अनुसार नमुनालाई राजीनामा गर्न लगाइएको बताएकोछ ।

यही माघ २५ भएको राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार कुमार दसौंदीलाई मतदान नगरी काँग्रेसलाई सघाएको उजुरी परेपछि उनीमाथि पार्टीले छानबिन गरेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

उजुरीपछि छानबिन गर्दा उनले काँग्रेसका उम्मेदवारलाई मत हालेको पाइएपछि राजीनामा दिन लगाएको बताइएको छ । गत पुष २८ गते केसीले बिनाविभागीय मन्त्रीका रुपमा शपथग्रहण गरेकी थिइन् ।

नेकपा माओवादी केन्द्रका तर्फबाट बिना विभागीय मन्त्री बनेकी केसीको राजीनामा सरकारसँगको असन्तुष्टिका कारण नभएको मन्त्री तथा सरकारका प्रवक्ता चेतनारायण आचार्यले बताएकाछन् ।

उनले भने, ‘मन्त्री केसीको राजीनामा उहाँको पार्टीभित्रको समस्या होला, सरकारसँगको असहमतिबाट होइन ।’

केसी निकट स्रोतका अनुसार मन्त्रालयको भागबण्डाको विषयलाई लिएर मन्त्री केसीले राजीनामा दिएकी हुन् । मन्त्री बनेकी केसीले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेकी थिइन् । तर, उनलाई आन्तरिक मामिला, कानून मन्त्री बनाउने तयारी भएपछि राजीनामा बुझाएको उनीनिकट स्रोतको दावी छ ।

भौतिक पूर्वाधार मन्त्रालय माओवादीकै इन्द्रजित थारुलाई दिने मुख्यमन्त्रीको तयारी छ । माओवादीका नेता एवं प्रदेश सभा सदस्य इन्द्रजित थारुले भने राजीनामाको विषय पार्टीमा जानकारी नआएको प्रतिक्रिया दिए ।

मुख्यमन्त्री गिरी गत पुष २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले यही माघ ५ गते प्रदेश सभामा विश्वासको मत पाएका थिए । यस्तै मुख्यमन्त्री लिला गिरीले आईतबार मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर १ ‘क’ बाट माओबादीकी कृष्ण केसी ‘नमुना’ प्रदेश सभा सदस्यमा निर्वाचित भएकी हुन् । यसअघि पनि उनले सोही निर्वाचन क्षेत्रबाट चुनाव जितेकी थिइन् । उनी बाँकेबाट संघ तथा प्रदेश सभा निर्वाचनमा प्रत्येक्षतर्फ चुनाव जित्ने एक्ला महिला उम्मेदवार हुन् ।

बाँके –१ ‘क’ : माओबादीकी ‘नमुना’ पुनः निर्वाचित