इन्सेकले भन्यो–‘विश्व खाद्यले वितरण गर्ने खाद्यान्नको पूर्व परीक्षण अनिवार्य गर’


इन्सेकले भन्यो–‘विश्व खाद्यले वितरण गर्ने खाद्यान्नको पूर्व परीक्षण अनिवार्य गर’

नेपालगन्ज २१ फागुन : विश्व खाद्य कार्यक्रमले कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यालयमा दिवा खाजा कार्यक्रमका लागि ल्याएको चामल गुणस्तरहीन पाइएकोमा ध्यानाकर्षण भएको जनाउँदै इन्सेकले पूर्व परीक्षणको माग गरेको छ ।

इन्सेकका अध्यक्ष डाक्टर कुन्दन अर्यालले विज्ञप्ति निकालेर विश्व खाद्य कार्यक्रमले वितरण गर्ने खाद्यान्नको पूर्व परीक्षण अनिवार्य गर्न माग गरेका हुन् ।

‘५४ हजार किलो भिजेको, मक्किएको र गन्हाएको चामल नेपाल भित्र्याउन लागिएको घटनालाई हामीले नेपाली जनताको स्वस्थ्यकर खाद्यान्नको हकविरुद्ध र विशेषतः बालबालिकाको सर्वोत्तम हित प्रतिकूल गम्भीर हेलचेक्र्याँइ ठानेका छौ’, विज्ञप्तिमा भनिएको छ ।

नेपालका दुर्गम क्षेत्रमा कामका लागि खाद्यान्न तथा दिवाखाजाजस्ता कार्यक्रम अन्तर्गत विश्व खाद्य कार्यक्रमले ४५ वर्ष अघिदेखि खाद्यान्न वितरण गर्दै आएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

२०६६ जेठ, असार र साउन महिनामा जाजरकोट लगायतका पहाडी जिल्लामा ३ सय जनाभन्दा बढी नागरिकको झाडापखालाका कारण मृत्य भएपछि इन्सेकले गरेको स्थलगत अध्ययनमा खाद्यान्न वितरणका क्रममा हुने गरेको अनियमिता छर्लड्ग भएको थियो ।

त्यो घटनाको छानबिन गरी दोषीमाथि कारबाही चलाउन नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घलाई समेत गरिएको ध्यानाकर्षणको बेवास्ता गरिएको इन्सेकको आरोप छ ।

‘हामी विश्व खाद्य कार्यक्रमले नेपालमा आपूर्ति गर्ने सबै प्रकारका खाद्यान्नको परीक्षण अनिवार्य गरी नेपाली जनताको खाद्यसम्बन्धी संवैधानिक हक सुनिश्चित गर्न माग गर्दछौं । साथै, अखाद्य सामग्री बालबालिकालाई वितरण गर्न ल्याउन लागिएको घटनाको छानबिन गरी त्यस कार्यमा संलग्न दोषीहरूमाथि कानुनी कारबाही चलाउन समेत नेपाल सरकारसँग माग गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ ।