नगरकै विद्यालय महिलामैत्री शौचालयविहीन


नगरकै विद्यालय महिलामैत्री शौचालयविहीन

नेपालगन्ज : नेपालगन्जका अधिकांश सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रा महिनावारीको समयमा विद्यालय आउँदैनन् । विद्यालयमा महिलामैत्री शौचालय नहुनु र भएका शौचालयमा पनि प्याड फेर्न तथा सरसफाइका लागि पानीको अभाव हुने गरेका कारण छात्रा चाहेर पनि विद्यालय जान नसकेका हुन् ।

विद्यालय आउन नसक्ने बाध्यताका कारण उनीहरुको अध्ययन प्रभावित हुने गर्छ भने मानसिक पीडाले पनि छात्रालाई पिरोल्ने गरेको छ । नेपालगन्ज उपमहानगरपालिकामा ४३ सामुदायिक विद्यालय छन् । नगर क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राको संख्या करीव ६ हजार रहेको छ ।

‘महिनावारी भएका समयमा कपडा फेर्न तथा सेनेटरी प्याड प्रयोग गर्न मिल्ने सरसफाइयुक्त शौचालय नभएकाले बाध्य भएर विद्यालय नजाने गरेको हो,’ नाम बताउन नचाहने एक छात्राले भनिन् ।

महिनावारी हुँदा विद्यालयमै सेनेटरी प्याड प्रयोग गर्न सकिने शौचालय भएमा सहजता हुनुका साथै कपडा र प्याड फेर्न घर जानुपर्ने बाध्यता नहुने छात्राको भनाइ छ ।
‘विद्यालयमा महिलामैत्री शौचालय निर्माण, सरसफाइको व्यवस्था र सेनेटरी प्याडको व्यवस्था भएपछि छात्राले महिनावारी हुँदा विद्यालय छाड्नै पर्दैन,’ शिक्षिका मोहिनी योगीको भनाइ छ ।

Kanti Aarogya Hospital Nepalgunj

बिशेषतः कक्षा ६ देखि १० सम्मका छात्रालाई सेनेटरी प्याड र महिलामैत्री शौचालय हुनु आवश्यक हुन्छ । विद्यालयमा छात्राका लागि कपडा र प्याड फेर्न मिल्नेसम्मको शौचालय तयार गरिदिए मात्र पनि धेरै छात्रालाई सजिलो हुने उनको सुझाव छ ।

उपमहानगरपालिकामा सञ्चालित केही सामुदायिक विद्यालयमा अहिले महिलामैत्री शौचालय निर्माण हुँदैछन् तर अझै थुप्रै विद्यालयमा महिलामैत्री शौचालय निर्माण हुन सकेका छैन । नेपालगन्ज उपमहानगरले पञ्चवर्षीय परियोजना अन्तरगत नगरमा रहेका सामुदायिक विद्यालयमा महिलामैत्री शौचालय निर्माण गर्ने योजना बनाएको शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापा बताउँछन् ।