जमुनाह नाकामा भेटिन थाले कोरोना संक्रमित


जमुनाह नाकामा भेटिन थाले कोरोना संक्रमित

File Photo

नेपालगन्ज ११ चैत्र : कोरोना भाइरस संक्रमणको पहिलो र दोस्रो लहरमा उच्च विन्दुमा पुगेको बाँकेमा पुनः संक्रमित भेटिन थालेकोछ । जमुनाह नाका भएर भारतबाट फर्किने नेपालीमा पुनः कोरोना सङ्क्रमण देखिन थालेको हो ।

लामो समयसम्म फाट्टफुट्ट मात्रै कोरोना सङ्क्रमित फेला परेपनि केही दिनयता सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेको नेपालगन्ज उप–महानगरपालिका जनस्वास्थ्य निरीक्षक तेज ओलीले जानकारी दिए ।

‘जमुनाह नाकामा भारतबाट फर्किनेहरूको नियमित स्वास्थ्य जाँच भइरहेको छ,’ सेतोखरीसँग कुरा गर्दै जनस्वास्थ्य निरीक्षक ओलीले थपे,–‘पछिल्ला समय एकैदिनमा सात जनासम्ममा कोभिडको सङ्क्रमण देखिएको छ ।’

नेपालगन्ज उपमहानगरपालिकाका अनुसार यही चैत १ गतेदेखि ११ गतेसम्म १७ जनामा सङ्क्रमण देखिएको छ । शुक्रबार १६१ जनाको कोभिड एन्टिजिन परीक्षण गर्दा तीन महिलासहित सात जनामा सङ्क्रमण देखिएको हो । पछिल्लो पटक सङ्क्रमण देखिएकाहरू दैलेखबाट भारतको राजधानी नयाँ दिल्ली भ्रमणमा गएका विद्यार्थीहरू हुन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

कोरोना सङ्क्रमण देखिएकाहरूमा सामान्य रुघाखोकी मात्रै देखिएकारण स्थानीय तहको समन्वयमा घरमै आइसोलेशन बस्ने गरी पठाइएको उप–महानगरपालिकाले जनाएको छ ।

नेपालगन्ज उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले सीमानाका भएर ओहोरदोहोर गर्ने नागरिक तथा अन्य सबैलाई कोभिडबाट बच्न स्वास्थ्य मापदण्डको पूर्ण पालनाका लागि आग्रह गर्ने गरिएको बताए ।

सीमा नाकामा कोभिड परीक्षणमा थप कडाइ गरिएको उनले बताउँदै कोरोना संक्रमण देखिएपछि जमुनाह नाकामा स्थायी प्रकारको परीक्षण केन्द्र स्थापना गरिएको बताए ।

जिल्लाका अन्य अस्पतालहरूमा समेत सामान्य रुघाखोकीका बिरामी बढेका कारण चिकित्सकहरूले स्वास्थ्य मापदण्ड पालनाका लागि आग्रह गरेका छन् ।