नेपालगन्जको ‘कान्छो’ वडामा स्वास्थ्य जाँच, स्थानीय खुुसी


नेपालगन्जको ‘कान्छो’ वडामा स्वास्थ्य जाँच, स्थानीय खुुसी

File Photo

नेपालगन्ज १९ चैत्र : गाउँमै स्वास्थ्य जाँच र निःशुल्क औषधि पाउँदा बाँकेको जङ्गलीपूर्वावासी खुुसी भएका छन् । नेपालगन्ज उपमहानगरपालिकाभित्रकै २३ नम्बर वडा भए पनि यहाँ स्वास्थ्य र शिक्षाको पहुँच कमजोर रहेको छ । गाउँमा छाला रोगका बिरामी धेरै देखिएपछि राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ बाँकेले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

शिविरमा औषधोपचार गर्न पाउँदा वडाबासी खुसी भएको स्थानीय अगुवा अजीज बेहनाले बताए । वडाको स्वास्थ्य केन्द्रमा औषधि नपाइने र नेपालगन्ज जान टाढा पर्ने भएकाले गाउँलेले रोग लुकाएर बस्ने गरेको उनको भनाइ छ ।

साविक हिरमिनिया गाविसमा रहेको जङ्गलीपूर्वालगायतका केही गाउँलाई नेपालगन्ज उपमहानगरपालिकामा गाभेर २३ नम्बर वडा बनाइएको थियो । नेपालगन्ज उपमहानगरपालिकाको फोहर विसर्जन केन्द्र सञ्चालन गर्न यो गाउँलाई उपमहानगरमा गाभिएको हो । वडासँग जोडिएका अन्य गाउँ भने डुडुवा गाउँपालिकाको वडा नम्बर–६ मा पर्दछन् ।

उपमहानगरपालिकको फोहर विसर्जन केन्द्रसँग जोडिएको गाउँमा छाला रोगको सङ्क्रमण देखिएपछि स्वास्थ्य शिविर आयोजना गरिएको महासङ्घ बाँकेका प्रमुख कुस्माखर बस्यालले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

उनका अनुसार फोहर व्यवस्थापन केन्द्र (डम्पिङ साइट)सँग जोडिएको नेपालगन्जको वडा २१ र २३ तथा डुडुवा गाउँपालिकाका केही वडालाई लक्षित गरी शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य शिविरमा आएका स्थानीय बासिन्दालाई स्वास्थ्य परीक्षणसहित आवश्यक औषधिसमेत उपलब्ध गराइएको छ ।

गाउँटोलमै चिकित्सकसहितको टोलीले निःशुल्क स्वास्थ्य परीक्षण गरेपछि स्थानीय बासिन्दाले सहजता भएको बताएका छन् । भेरी अस्पताल नेपालगन्जका छाला रोग विशेषज्ञ डाक्टर अनिषा उप्रेती नेतृत्वको टोलीले गरेको स्वास्थ्य परीक्षणमा अधिकांशमा लुतो, चिलाउने, दाद, खुट्टा फाटेकाजस्ता समस्या देखिएको प्रमुख बस्यालले बताए ।

नेपालगन्जको विकट वडाको रूपमा रहेको सो वडामा छाला रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा एक सय ८० जनाको स्वास्थ्य परीक्षण भएको थियो ।