नरैनापुर २० चैत्र : कार्यसम्पादनमा देशकै उत्कृष्ट बाँकेको नरैनापुर गाउँपालिकाको शिक्षा र स्वास्थ्यमा बजेट थप गर्ने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडैलले बताएकाछन् ।
स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा देशकै उत्कृष्ट पालिका घोषण भएको भन्दै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडैल नेतृत्वको टोली नरैनापुर पुगेर अध्यक्ष इश्तियाक अहमद शाहलाई बधाई दिदैँ यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन् ।
आयोगका अध्यक्ष पौडेलले आगामी आर्थिक वर्षको लागि नरैनापुरलाई ६६ लाख रुपैँया वित्तीय समानीकरण अनुदान सिफारिस गरेको बताए ।
नरैनापुरको स्थलगत निरीक्षण गरे पश्चात जनप्रतिनिधि र कर्मचारीहरुसँग कुरा गर्दै आयोगका अध्यक्ष पौडेलेले नरैनापुरले गरेको कामको अन्य पालिकाले सिको गर्न जरुरी रहेको सुझाए ।
अध्यक्ष पौडेलले नरैनापुरको शिक्षा र स्वास्थ्यका लागि थप बजेट अवश्यक रहेको देखिएकोले सम्बन्धित मन्त्रालयलाई बजेट व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य विपिनराज निरौलाले संघीय सञ्चित कोषबाट तल्लो तहमा प्रदान गरिने वित्तीय समानीकरण अनुदान सिफारिसका लागि सय अंकभार दिएर आयोगले तयार पारेको कार्यसम्पादन मूल्यांकनमा नरैनापुर गाउँपालिकाले पाएको ७८.५२ अंकको आधारमा देशकै पालिका मध्ये सबैभन्दा बढी बजेट पाएको बताउँदै नरैनापुरको विकासका लागि अझ राम्रो काम गर्न सुझाव दिदैँ उत्कृष्ट भएकोमा बधाई दिए ।
गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आयोगका अध्यक्ष पौडेल, सदस्य निरौला र गाँउपालिका महासंघका समन्वय अधिकृत रविन पौडेललाई खादा मलालाले स्वागत गरेका थिए ।
अध्यक्ष शाहले नरैनापुर उत्कृष्ट भएपछि आयोगको टोली पालिकामा आएर बधाई दिनु आफूहरुका लागि खुशीको कुरा भएको बताउँदै उनले नरैनापुरको शिक्षा र स्वास्थ्य क्षेत्रका लागि थप बजेटको व्यवस्था गर्न माग गरे ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत मणीराम खरालले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको अथक परीश्रम र कडा मेहनतको फल देशकै उत्कृष्ट गाउँपालिकाको रुपमा दर्ज गर्न सफल भएको बताए ।
आयोगको टोलीले नरैनापुरका अध्यक्ष इश्तियाक अहमद शाह, प्रमुख प्रशासकीय अधिकृत मणीराम खराल, लेखा अधिकृत भरत बस्नेत, वडा नम्बर–५ का सचिव भरत महतो, स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार साह, कृषि शाखा प्रमुख सदन भण्डारी, शिक्षा शाखा प्रमुख कृष्ण चौधरी, लेखापाल प्रकाश अधिकारी, सर्भिलेन्स अफिसर बिबेक पौडेल र वडा सदस्यहरुसँग छलफल गरेका थिए ।
आयोगको टोलीले निर्माणधिन अवस्थामा रहेको गाँउपालिकाको भवन, अस्पताल र नेपाल–भारत सीमानाका बघौडा क्षेत्रको अनुगमन समेत गरेको थियो ।
थप समाचार
कार्यसम्पादनमा देशकै उत्कृष्ट नरैनापुरले पायो ६६ लाख पुरस्कार