नेपाल–भारतका साहित्यकार सम्मानित, बाँके र बर्दियाका पर्यटकीय स्थल दर्शन गरेर विदा भए


नेपाल–भारतका साहित्यकार सम्मानित, बाँके र बर्दियाका पर्यटकीय स्थल दर्शन गरेर विदा भए

नेपालगन्ज २० चैत्र : नेपालगन्जमा आयोजित नेपाल–भारत साहित्य संगोष्ठी सम्पन्न भएको छ । महेन्द्र पुस्तकालयको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा आयोजित संगोष्ठीमा नेपाल र भारतका साहित्यकारहरुबीच दुई देशका साझा साँस्कृतिक सम्बन्धका विषयमा छलफल एवं साहित्य पाठ भएको छ ।

शनिबार सुरु भई आईतबारसम्म संगोष्ठीमा नेपाल र भारतका साझा भाषा, संस्कृति, अवधी भाषा, साहित्य अनुवादका विषयमा साहित्यकार एवं विद्वानहरु सनत रेग्मी, आराध्य शुक्ला, द्वारिकानाथ पाण्डे, गोपाल अश्क, डा. रामबहादुर मिश्र र हंसावती कुर्मीले छुट्टाछुट्टै गोष्ठीपत्र प्रस्तुत गरेका थिए ।

उनीहरुले नेपाल भारतका भाषा, संस्कृतिमा समानता रहेको बताउँदै त्यसको प्रवद्र्धन साहित्यमार्फत पनि हुने भएकोले पुस्तक र लेख रचनाहरु अनुवाद हुनु आवश्यक रहेको बताएका थिए ।

साथै कार्यक्रममा नेपाल र भारतका गरी करिब तीन दर्जन स्रष्टाहरुले कविता, कथा, गीत, गजल लगायतका रचना वाचन पनि गरेका थिए । भाषा आयोगका सदस्य डा. अमर गिरिले उद्घाटन गरेको कार्यक्रममा भाषा आयोगका सदस्य गोपाल अश्क, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य हंसावती कुर्मी, प्राज्ञ सभा सदस्यद्वय महानन्द ढकाल र शशीराम कार्कीको सहभागिता रहेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसैगरी भारतबाट साहित्यकारहरु रजनीकांन्त वशिष्ठ, डा. रामबहादुर मिश्र, मनिषा खटाटेसहित १७ जनाको सहभागिता थियो । कार्यक्रममा २० जना साहित्यकारहरुलाई सम्मान पनि गरिएको छ । सम्मानित हुनेहरुमा भाषा आयोगका सदस्य डा. गिरि, साहित्यकार अश्क, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य कुर्मी, भारतीय साहित्यकारहरु रजनीकांन्त वशिष्ठ, डा. रामबहादुर मिश्र, आराध्या शुक्ला, नुतन वशिष्ठ, पुनिता अवस्थी, अनुपमा शरद, अनमोल मिश्र, जय सिंह, ममता शुक्ला रहेका छन् ।

यसैगरी, अमिता पाण्डे, नवनित मिश्रा, स्नेहलता, प्रतिप सारंग, राजेन्द्र वर्मा, अलङ्कार रस्तोगी, द्वारिकानाथ पाण्डे र मनिषा खटाटेलाई पनि सम्मान पत्रसहित सम्मान गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. गिरिले नेपाल र भारतका साहित्यकारहरुको संगाष्ठीले नेपाल भारतका साझा भाषा र संस्कृतिको प्रवद्र्धन र विकासमा भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै भारतीय साहित्यकारहरुले नेपाल भारतको नागरिक–नागरिकबीचको सम्बन्धलाई साहित्य र साँस्कृतिक गतिविधिले झन् प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

संगोष्ठी सकेर सोमबार भारतीय साहित्यकारहरुलाई बाँके र बर्दियाका पर्यटकीय स्थल दर्शन गराएर विदा गरिएको पुस्तकालयका अध्यक्ष बलराम यादवले जानकारी दिए ।

करिब दुई दशक बन्द रहेको पुस्तकालयमा केही महिनाअघि निर्वाचित नयाँ कार्यसमितिले पुस्तकालयलाई पुनः व्यवस्थित गर्नुका साथै साहित्यिक र प्राज्ञिक क्रियाकलपापहरु सुरु गरेको अध्यक्ष यादवले बताएका छन् ।