अब नेपालगन्जलाई डुबान हुनबाट जोगाउनेछ : मेयर विष्ट
नेपालगन्ज २१ चैत्र : भेरी प्राविधिक शिक्षालय भएर बग्ने नेपालगन्जको ठूलो नाला विभिन्न खाले फोहरको डंगुरले अस्तब्यस्त थियो । फोहर जाम भएर पानी नै बग्ने अवस्था थिएन । नालाको आधा भन्दा बढी भाग माटोले पुरिएर झाडी नै झाडीले भरिएको देखिन्थ्यो ।
माटोले पाटिएको र झाडीले झाँगिएको थियो । पानीको सहज निकासमा अवरोध थियो । तर, अहिले यो नालाको अन्तिम विन्दु (आउटलेट) बाट सरसफाई थालिएपछि आजभोलि ‘कलकल’ पानी बग्न थालेको छ ।
फागुन २६ गतेदेखि ठूलो नालाको आउटलेटबाट सरसफाई थालिएको हो । वर्षेनी बर्खाको बेला डुबान हुने समस्याबाट मुक्ति पाउन नेपालगन्ज उपमहानगरपालिकाले नाला सफाईको कामलाई अहिले अभियानकै रुपमा अघि बढाएको छ ।
संघीय सरकारबाट आएको विज्ञ टोलीले गरेको स्थलगत अध्ययनपछि प्राप्त सुझाबको आधारमा जेठ मसान्तसम्म नाला सफाई सक्ने गरी काम भइरहेको छ । यसअघि सामान्यरुपमा डुबानका बेला मात्र बजार क्षेत्रका नाली सफाई गर्ने गरिए पनि बर्षौंदेखि नालाहरु सफाई गरिएको थिएन ।
तीन वटा प्याकेजमा नाला सफाई गर्ने गरी काम सुरु गरिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । पहिलो चरणमा बजार क्षेत्र भएर बग्ने ठूलो नाला र दोन्द्रा नालाको अन्तिम विन्दु (आउटलेट) बाट सफाईको काम अगाडिबढेको छ । त्यसपछि नगरका भित्री नालाको सफाई गरिनेछ ।
‘अन्तिम विन्दुबाट काम सुरु गरेपछि जहाँ–जहाँ अबरोध छ, त्यसमा राम्रोसन्ग काम गर्न सकिन्छ भन्ने उद्देश्यले आउटलेटबाट काम सुरु गरेका छौं,’ नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले भने, ‘बजार क्षेत्रभित्रको मुख्य नाला र दोन्द्रा नाला मिसिएर बनेको दोधारा नालाको अन्तिम विन्दुबाट फागुन २६ गतेदेखि काम सुरु गरेका छौं ।’
जेसिबीले सफाई गर्न सक्ने ठाउँमा जेसिबी र जेसिबीले गर्न नसक्ने ठाउँमा मान्छे नै लगाएर सफाई गरिरहेको विष्टको भनाई छ । नाला सफाई कार्यको अवलोकनमा पुगेका नगरप्रमुख विष्टले नाला सफाईको काम सकिएपछि अब नेपालगन्ज नडुब्ने विश्वास व्यक्त गरे ।
‘नालाको आधा भन्दा बढी भाग माटोले पुरिएको अवस्था छ, कतिपय ठाउँमा जेसिबी प्रयोग गर्न सकिने अवस्था छैन, त्यसैले मान्छे नै लगाएर सफाई गरिरहेका छौं,’ नगरप्रमुख विष्टले भने, ‘सहरको करिब ८० प्रतिशत पानी बग्ने मुख्य नालाको सफाई मुख्य प्राथमिकतामा राखेका छौं, यहाँबाट (अन्तिम विन्दु) भेरी प्राविधिक शिक्षालयसम्म र बजार क्षेत्रमा कर्णाली विकास बैंक छेउँसम्म राम्रोसँग सफा गर्न सकियो भने पानीको सहज निकास हुन्छ ।’
विष्टले नेपालगन्ज उपमहानगरपालिकाभित्र ‘ड्रेनेज’को पर्याप्त नेटवर्क भएपनि सहजरुपमा पानीको निकास नहुँदा समस्या निम्तिने गरेको बताए । विज्ञ टोलीले नेपालगन्ज जति पर्याप्त डे«नेज नेटवर्क अन्य सहरमा आफूहरुले नदेखेको बताएको विष्टले सुनाए । पर्याप्त ड्रेनेज नेटवर्कको सदुपयोगका लागि आफूहरु सचेत रहेको उनको भनाई छ ।
‘विगतमा बजारको वरिपरि मात्रै सफाई गर्ने काम भयो, अब हामीले अन्तिम विन्दुबाट आमरुपमा सफाई थालेका छौं, दुई चरणमा काम गर्छौं, पहिलो चरणमा दुई ठूला नाला र दोस्रो चरणमा साना नाला सफाई गर्छौं, अहिले दुई ठूला नाला सफाई भइरहेको छ, यसपछि नगरका साना नाला सफा गर्छौं, यसले अब नेपालगन्जलाई डुबान हुनबाट जोगाउनेछ,’ उनले भने ।
१०÷१० लाखको तीन वटा प्याकेजमा नाला सफाईको काम भइरहेको छ । नगरप्रमुख विष्टले नालामा जथाभावी फोहर नफाल्न पनि नगरबासीलाई आग्रह गरेका छन् ।
‘सरसफाईमा नागरिक सहभागिता जरुरी छ, नेपालगन्ज उपमहानगरपालिकाले एक्लै गरेर मात्र हुँदैन,’ उनले भने,‘नागरिक सहभागिता जरुरी छ, नागरिकमा चेतना र जागरण आवश्यक छ, हामीले जनचेतना फैलाउने काम पनि गर्छौैं, पटक–पटक अटेर गरिए कारबाही पनि गर्छौं ।’
नाला छेउँमा घर भएकी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१० की सरुना कुँवरले आफूले यो नालालाई यस्तो अवस्थामा यसअघि नदेखेको बताइन् । ‘यति सफा पहिले देखेका थिएनौं, अहिले नाला सफाई भएपछि यसको मुहारै फेरिएको छ, कुँवरले भनिन्,–‘अब यता डुबान हुँदैन भन्ने लागेको छ ।’
वडा नम्बर–१० की अर्की स्थानीय कल्पनाले पनि नाला सफा भएको देखेर खुसी लागेको धारणा राखिन् ।
थप समाचार